भीभीआईपी भ्रमणमा नागरिकलाई सास्ती दिएकोमा प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री सुशील कोइरालाले आफू विदेश जाने क्रममा जनतालाई सास्ती हुने गरी सुरक्षा निकायले सडकमा सार्वजनिक यातायात र निजी गाडी गुडाउन लगाएको रोकप्रति असन्तुष्टि पोखेका छन्। उनले यस विषयमा मुख्यसचिव लीलामणि पौडेलसँग असन्तुष्टि पोखेका खबर आजको अन्नपूर्णमा छापिएको छ।
 
कोइराला बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ जान लाग्दा सुरक्षाकर्मीले सडकमा सर्वसाधारणका गाडी चल्न रोक लगाएका थिए।

'जनताको प्रधानमन्त्री जनतासँगै बाटोमा हिँड्नुपर्छ। मेरो यात्राका बेला किन अन्य गाडी गुडाउन रोक लगाएको? यस्तो गर्नुभएन', कोइरालाले पौडेलसँग भनेका थिए। पौडेलले मन्त्रिपरिषद्बाट निर्णय गराएर हुने सरकार वा राष्ट्रप्रमुखको भ्रमणको शैली नै यस्तो हुने भएकाले सुरक्षा निकायले नमान्ने जानकारी गराएका थिए।

कोइरालाले यस्तो परम्परा अन्त्य गर्नुपर्ने र आफू म्यानमारबाट फर्केपछि यो विषयमा ध्यान दिने बताएको जानकारी उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले दिए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, 'जनताको सुविधा पहिलो प्राथमिकता हो। जनतालाई दु:ख दिने काम गर्नु हुँदैन।'

,

news and entertainment