रेष्टुरेन्टमा काम गर्ने महिलालाई बिनाकारण पक्रेर कुटपिट गर्ने सईमाथि कारबाहीको माग

 काठमाडौं, चैत ४ – रेष्टुरेन्टमा काम गर्ने तीन जना महिला कामदारलाई गैरकानुनी रुपमा पक्राउ गरी यातना दिएको आरोप लगाउँदै गोंगबु सामुदायिक प्रहरीका सई शिव श्रेष्ठमाथि कारबाही गर्न अधिकारकर्मी र रेष्टुरेन्ट व्यवसायीले माग गरेका छन् ।
नेपाल रेष्टुरेन्ट ब्यवसायी संघले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले गोंगबुको साइनो रेष्टुरेन्टमा काम गर्ने उषा पौडेल, सोनु गुरुङ र सुनिता मगरलाई चैत १ गते पक्राउ गरी कार्यालयमा लगेर प्रहरीले कुटपीट गरेको भन्दै श्रेष्ठमाथि कारबाहीको माग गरेका हुन् ।
अधिकारकर्मी एवं कानून ब्यवसायी दिनेश त्रिपाठीले बिना वारेन्ट कसैलाई पनि पक्राउ गरेर यातना दिने अधिकार प्रहरीलाई नभएको भन्दै सई श्रेष्ठलाई तत्काल निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीले महिला अस्मिताको रक्षा सरकार र रेष्टुरेन्ट ब्यवसायीले गर्न नसकेको भन्दै न्याय नदिए अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने चेतावनी दिनुभयो । मुलुकमा धेरै परिवर्तन भइसकेपनि प्रहरीको पुरानो निरकुंश मानसिकतामा भने परिवर्तन हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
संघका अध्यक्ष मनोज केसीले रेष्टुरेन्ट ब्यवसाय अमर्यादित भएको लागेमा आवश्यक कानुन ल्याएर मर्यादित पेशा बनाउन पहल गरे मातहतमा चल्न तयार रहेको भन्दै हतोत्साही नगराउन आग्रह गर्नुभयो ।

,

news and entertainment