यसरी जोगाइएको थियो विमान दुर्घटना हुनबाट

२४ फागुन,काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनमा दोश्रो विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपाल बायु सेवा निगमको जहाजमा आगो लागेको एक दिन पछि आज भारतीय विमान सेवा इण्डिगो एयरलाइन्सको जहाजमा आगलागी भएको हो । उद्धार समयमै भएका कारण आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन ।

भारतको नयाँ दिल्लीवाट चालक दलका ६ जना सहित एक सय बयासी यात्रु बोकेर आएको भारतीय विमान सेवा कम्पनी एयर इण्डिगो एयरलाइन्सको विमानमा शनिबार विहान साढे १२ बजेपछि त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै आगो लागेको हो ।
indigo-airlines pic
इन्डिगो ०३१ को एअरबस ३२० भीटि आईयु विमान पार्कङिमा लैजाने क्रममा आगलागी भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । आगलागीबाट विमानको पछाडिको दाँया चक्कामा क्षतिपुगेपनि ठूलो नोक्सानी नभएको विमानस्थलले दाबी गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विज्ञप्ती जारी गर्दै विमानमा रहेको सबै यात्रु सकुशल रहेको जानकारी दिएपनि विमानमा रहेका यात्रुहरुले भने भागदौडका क्रममा केहि ब्यक्ति सामान्य घाइते भएको बताए ।

आगलागिपछि विमानमा रहेका चारवटै आकस्मिक ढोका खोलेर यात्रु र चालक दलका सदस्यहरुको उद्धार गरिएको थियो । उद्धार समयमै भएकाले पनि भयावह अवस्था नआएको यात्रुहरुको भनाई छ ।

उद्धारका क्रममा एक जनालाई सामान्य चोटपटक लागेको जनाइएको छ । विमानमा लागेको आगो दमकल र सुरक्षाकर्मीको प्रयासमा करिव पन्ध्र मिनेटमा नियन्त्रणमा आएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८२ जना सवार थिए । आगलागीवाट पाङग्रामा पुर्ण रुपमा क्षति पुगेको छ । विमानमा आगलागि हुनुको कारण खुल्न सकेको छैन ।

यो त्रिभुवन विमानस्थलमा दुई दिन भित्र भएको दोश्रो विमान दुर्घटना हो । यद्यपी दुवै घटनामा ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । शुक्रबार पनि नेपाल बायु सेवा निगमको एक मात्र ट्वीनअटर विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै आगो लागेको थियो ।

आगो लागेपछि आपत्कालिन अवतरण गरेर पाइलटले दुर्घटना हुनबाट जोगाएका थिए । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहेका पछिल्लो साना दुर्घटनाले विमानस्थलको ब्यवस्थापनमा प्रश्न चिन्ह लागेको छ ।

, ,

news and entertainment