मर्केल र ओबामाको पुटिनलाइ दबाब
वासिङ्टन, अमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मन चान्सलर एङ्गेला मर्केललाई टेलिफोन गरी युरोपेली महासङ्घ तथा अमेरिकाबीच रसियाले युक्रेनमा गरेको हस्तक्षेपको विषयमा एकै अडान रहेको भनी प्रशंसा गर्नुभएको छ ।
यसबीच मस्कोले युक्रेनमा अति आवश्यक ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएपछि त्यहाँ रसिया समर्थकहरूले प्रदर्शन गर्ने भएका छन् । यसले रुसको पश्चिमी मुलुकसँगको सम्बन्ध अझै तनावपूर्ण बन्नेछ ।
अमेरिकी राष्ट्रपति ओबामा तथा जर्मन चान्सलर मर्केलबीच रसियाले युक्रेनबाट आफ्नो सेना फिर्ता लैजानुपर्ने, क्राइमियामा अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा मानवअधिकार अनुगमनकर्ताहरू तैनाथ गर्नुपर्ने तथा मे महिनामा त्यहाँ राष्ट्रपति पदको स्वतन्त्र निर्वाचन हुनुपर्ने कुरामा सहमति भएको भनी ह्वाइट हाउसले एक विज्ञप्तिमा जनाएको छ ।
उहाँहरूले रसियाले तत्कालै सम्पर्क समूह गठन गरी युक्रेनसँग वार्ता गर्नुपर्ने र तनाव कम गरी युक्रेनको क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्नुपर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । उहाँहरूले रसियाले युक्रेनमा सैनिक हस्तक्षेप गरी स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको कुरा दोहो¥याउनुभएको बताइएको छ । क्राइमियामा हस्तक्षेप गरेको भनी पश्चिमी मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
यसबीच मस्कोमा रसियाली विदेशमन्त्री सेर्गेइ लाभ्रोभले अमेरिकी समकक्षी जोन केरीलाई युक्रेनका विषयमा वासिङ्टनले मस्कोमाथि हतारमा प्रतिबन्ध लगाउने कुराको विरोधमा चेतावनी दिनुभएको छ ।
दुई विदेशमन्त्रीबीच टेलिफोनमा वार्ता भएको र यसअघि उहाँहरूबीच पेरिस तथा रोममा वार्ता भएको तर युक्रेनको परिस्थितिका सम्बन्धमा सहमतिमा पुग्न नसकिएको बताइएको छ । उहाँहरूबीच यो समस्या समाधान गर्न निरन्तर प्रयास हुने सहमति भएको बताइएको छ । उक्त कुरा रसियाली विदेशमन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको हो ।
रसियाली विदेशमन्त्री लाभ्रोभले अमेरिकाले हतार तथा नसोचिकन लिएको पाइलाले दुई मुलुकबीच सम्बन्धलाई प्रभावित बनाउने र यसले अमेरिकाविरुद्ध नै नकारात्मक प्रभाव पार्ने चेतावनी दिनुभएको बताइएको छ ।