विश्वकपमा नेपालसंग हङकङ ८० रनले पराजित
टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ । आईसीसीको आधिकारिक अभ्यास म्याचमा आयरल्याण्ड र युएइसंग पराजित भएको नेपाल आइतबार हङकङबिरुद्ध ब्याटिङ र बलिङ दुबैमा चम्केपछि फराकिलो जीत निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङ १७ ओभरमा ६९ रन बनाउँदै अल आउट भयो ।
नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको जोडीले ८९ रन बनाएको थियो , खड्का ४१ रनमा आउट भए भने मल्ल ४८ रनमा । यसअघि सुभाष खकुरेलले २२ रन बनाएको इनिङमा सागर पुनले १३ रन जोडे ।
नेपालका लागि अन्य ब्याट्सम्यानहरुमा शरद भेषवाकरले १४ रन जोडेका थिए । नेपालका तीन ब्याट्सम्यान लगातार आउट भएका थिए ।
१५० रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हङकङले सुरुवातमै झड्का खाएको थियो । कप्तान पारस खड्काको पहिलो बलमा हङकङका प्रारम्भिक ब्याट्सम्यान आउट भएका थिए ।
नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मीले ३-३ विकेट लिए भने सोमपाल कामीले २ तथा जीतेन्दद्र मुखियाले १ विकेट लिए ।
