बिहानबिहानै हतियार बोकेर कहाँ जाँदै थिए नेविसंघका विद्यार्थीहरु?

कुनै बेला एक डाक्टरले भनेका थिएः दिनभरि अपरेसन थिएटरमा कैयौँ बिरामीको ज्यान जोगाएर निस्केपछि जब म सुन्छु, केही व्यक्तिलार्इ फाँसी दिइयो, अनि मलार्इ मेरो सारा जीवन बेकार भएजस्तो लाग्छ। हो, यस्तै कुरा खेल्दा हुन् कहिलेकाहीं एसएसपी रमेश खरेलका मनमा पनि किनभने जब प्रहरीहरू वर्षौँको अनुसन्धानबाट धेरै जोखिम मोलेर एउटा अपराधीलार्इ पत्ता लगाएर कानुनको कठघरामा उभ्याउँछन्, तर अपराधी अदालतमा प्रवेश गर्नुभन्दा अघि नै क्याबिनेटको निर्णयबाट चोखिइसकेको हुन्छ। तर पनि खरेल आफ्नो पारा छोड्दैनन् बरू झन् उत्साहले काम गर्छन् र आफ्ना असफलताका कारण जनतालार्इ भनिदिन्छन्। शायद यही लप्पनछप्पन नजान्ने बानीले नै होला उनलार्इ धेरैको आँखाको नानी र केहीका आँखाको कसिंगर बनाएको।
 
काठमाण्डुका प्रहरी प्रमुख खरेललार्इ पत्रकार दिलभुषण पाठकले टफ टकमा अन्तर्वार्ता लिंदै गर्दा प्रसंगवश सोधेका थिएः तपाइँको यो शून्य सहनशीलताको कार्य शैली र विचार छ नि, यो तपाइँमा कसरी विकास भयो? खरेलले आफु भारतमा एक तालीममा जाँदा त्यहाँका चिफ कमिस्नरले बोलेका आदर्श बाक्य सम्झे र भनेः पैसा कमाउनु छ भने पान दोकान खोल तर पैसाको लागि आफुले लगाएको युनिफर्म नबेच, यसको मर्यादा कायम राख । यो वाक्यले उनलार्इ अफ्नो पेशामा थप जवाफदेही बनाएको रहेछ। त्यही वाक्य सुन्ने अरू सहकर्मी पनि थिए होलान् तर त्यो वाक्यले यिनलार्इ मात्रै किन छोयो होला?
 
भर्खरै सुनियो यिनले केही राजनीतिक आवरणका व्यक्तिहरूलार्इ गोलिगट्ठा सहित एकाविहानै समाते र कुनै राजनीतिक संगठनले उनीहरूलार्इ छुटाउन नाराबाजी गरिरहेको छ। छुटाउनुको कुरा त एकापट्टी होला तर तिनले यी खरेललार्इ कारबाहीको समेत माग गरेछन् र गलत व्यक्तिका रूपमा चित्रण गर्न खोजेछन् । रमेश खरेल जस्ता निःस्वार्थी सिपाहीलार्इ निरंकुश, सनकी र निर्मम व्यक्तिका रूपमा चित्रण गर्न राजनीतिक संगठन नै लाग्नु साह्रै लाजमर्दो कुरा हो, तर अबको समाजले यी सबै कृयाकलापलार्इ निरपेक्ष ढंगले नियालिरहेको हुँदा हरेक घटनाले गुणदोषको अधारमा समर्थन र विरोध त पाइरहनेछ । 
 
नेपाली समाजमा कारबाहीका लायक को छन् रु यो कसैले बुझेको छ भने रमेश खरेलजस्ता प्रहरीले नै बुझेका छन् जस्ले नेपाली समाज र नेपालको कानुनको दायरालार्इ राम्ररी अध्ययन गरेका छन् ।
 
एउटा युग हतियारको त्रासमा गुजारेर बल्ल त्राण पाएको मुलुकमा फेरि हातैपिच्छे हतियारको अवश्यकता किन परेको होला, त्यो पनि पुस्तक र कलम बोक्ने हातहरूलार्इ? के नेपालमा हतियारको जगजगी र सहिष्णुताको अन्त्य भइसकेकै हो त? कलम बोक्ने हातले पेस्तोल बोक्दा उन्मुक्ति पाउनु हुँदैन र शिक्षणसंस्थाका शिक्षार्थीहरू शस्त्रधारी भएर हिंड्नु गैरकानुनी हो, शस्त्रको लाइसेन्स थियो थिएन भन्ने प्रश्न प्राविधिक मात्रै हो । मलार्इ लाग्छ, खरेलको जिकिर पनि यतिमात्रै हो। 
 
व्यक्तिगत रूपमा खरेल कसैका शत्रु होइनन् । राजनीतिक संगठनहरूले चाहे भने खरेल उनका असल मित्र बन्न सक्छन् किनभने राजनीतिक संगठनको जन्म समाजमा असल थिति स्थापनाको लागि भएको हुन्छ र त्यसका लागि खरेलजस्ता व्यक्तिको अवश्यकता पर्छ । खरेल असल राजनीतिककर्मीलार्इ सम्मान पनि गर्छन् जस्को उदाहरण, प्रजातन्त्र, गणतन्त्र र राजतन्त्र समेतको समर्थन गर्ने तर असल चालचलन भएका सबै दलका नेताहरूको उनले नाम लिएरै प्रशंशा गर्ने गरेका छन् । जुनसुकै रंगको होस्, जतापट्टीको होस्, असल छ भने उसको सम्मान गर्नुपर्छ ।
 
प्रहरी पनि मानिस हुन्, नेपाली समाजभित्रैको संस्कारमा हुर्केका । उनीहरू पनि कोही उनका सामुन्ने आएर रोयो भने पग्लिन सक्छन्, हाँस्यो भने मस्त हुन सक्छन्, साथीका हैसियतले दिएका उपहार र सम्मान लिनसक्छन्, जमघटमा जाने र समाजमा घुलमिल हुने उनीहरूलार्इ पनि हक छ । तर कसैले यिनै माध्यमबाट परिबन्दमा पार्न पनि सक्छ र सकल प्रहरी दर्जाको छवि नै धमिल्याउने प्रपंच पनि हुन सक्छ । खरेल यस्ता कुरामा सजग पनि देखिन्छन् । केहीदिन अघि अरोपित व्यक्तिलार्इ नचिनेर संगै फोटो खिचाउनु र उनलार्इ कसैले सम्झाइदिएपछि तुरून्त पक्राउ गर्नु यसैको उदाहरण हो ।
 
खरेलले एक प्रसंगमा नेपालमा यति धेरै प्रहरी छन् तर खरेलमात्र यस्ता प्रहरी हुन् कि भन्ने भ्रमलार्इ चिर्न अफ्ना केही होनहार सहकर्मीको नामै लिएर आशाको संचार गराएका थिए । उनले प्रहरीभित्रका विकृत व्यक्तिलार्इ पनि अउँल्याउँदै भनेका थिएः जुन प्रहरीले कतैबाट संरक्षित गुण्डालार्इ कारवाही गर्दा मलार्इ फाइदा घाटा के हुन्छ, मेरो प्रमोशन, सरूवा, बढुवामा बाधा पर्ने हो कि भनेर क्यालकुलेशन गर्छ उसले यस्तालार्इ कारवाही गर्न सक्दैन । जो प्रहरी यस्ता फाइदा हेरेर कानूनभन्दा अरकसैका लागि गलत नियतले काम गर्छन्, ती ब्याड एप्पल (विग्रेका स्याउ) हुन् जसलार्इ छुट्टै बास्केटमा राख्नुपर्छ । यसबाट प्रष्ट हुन्छ, यी व्यक्ति प्रहरीभित्र पनि नराम्रा मान्छे छन् भन्ने कुरा स्वीकार गर्छन् र तिनलार्इ त्यस्तै व्यवहार गर्नुपर्ने मान्यता राख्छन् ।
 
डन भनिएकाहरूलार्इ राजनीतिक संरक्षण हुने गरेको तर तीनको हैसियतबारे खरेलले भनेका थिएः मैले सबैको नाडी छामेको छु, यी डन होइनन्, यी गुण्डा हुन्, अपराधी हुन्, जुन रंगमा बसेपनि यी अपराधी नै हुन् । एउटा निडर प्रहरीले यसरि अन्तर्वार्ता दिंदा समाजमा आतंक मच्चाउनेहरूलार्इ उक्साउने नेताहरूको अनुहारमा कस्तो कान्ति छायो होला रु अनुमान गर्न सकिन्छ । 
 
हुनत यी व्यक्ति नेपाल प्रहरीका सबैभन्दा उच्च तहका भने होइनन् तर त्यो तहकालार्इ समेत उत्साह जगाउनेगरि जनताप्रति पूर्णतः बफादार हुँने आशामा खरेलले राजनीतिक नेतृत्वलार्इ पनि स्पष्ट चेतावनी दिएका थिएः कसैको विर्ता होइन नेपाल प्रहरी, २ करोड ६० लाख जनताको पहरेदार हो । हामी जनताको करबाट राशन खाइरहेका छउँ । कुनै पनि नेताको इल्लिगल अर्डरलार्इ अब नेपाल प्रहरीका धेरै अधिकृतहरू नो भन्ने क्षमता राख्छन् । अहिलेका प्रहरी प्रमुख लगायत धेरै अधिकृतले राजनीतिक नेतृत्व या कुनै पनि पावरफुल भनिएको व्यक्तिले दिएका गैरकानुनी आदेश नमान्ने क्षमता राख्नुहुन्छ । यसरी उनले अफ्ना प्रमुखलार्इ पनि काँध थापिदिएर नैतिक बल पुर्याएका थिए । यसले समाजमा निष्पक्षता, शान्ति र अमनचयन खस्कँदै गएको हो कि भन्ने त्रास बोकिरहेका आम मानिसलार्इ धेरै हदसम्म भविष्यप्रति आशा जगाएको हुनुपर्छ ।
 
नेपालमा अपराध डन, नेता र प्रहरीको मिलेमतोमा फष्टाइरहेको र प्रहरीले  त्यसलार्इ निमट्यान्न पार्न सक्नेमा शंका गरिएको प्रसंगमा पनि खरेलले भनेका थिएः जो राष्ट्रिय स्वार्थलार्इ बोकेर हिंड्छ, उ यस्तो जालोमा फस्दैन । उसले जस्तोसुकै अपराधीलार्इ पनि कानुनको दायरामा ल्याउँछु भनेर लाग्यो भने मजाले सक्छ । यस्तो निर्भिकता र उच्च मनोबल कमै प्रहरीमा देखिने हुनाले नै उनी रमेश खरेल भएका हुन् कि रु
यति हुँदाहुँदै पनि प्रहरी एक व्यक्ति हो, उसको नीजी जीवन हुन्छ, उसका पनि बालबच्चा र परिवार हुन्छन्, उनीहरूप्रति उसको व्यक्तिगत दायित्व पनि हुन्छ । उसको मासिक तलबले तिनका अवश्यकता पूरा नहुने कुरा सजिलै अनुमान गर्न सकिन्छ । सरकारी तलबले परिवार पाल्न गाह्रो हुने कुरा खरेलले पनि भोगेकै रहेछन् तर उनको स्वाभिमानले दुर्इ नम्बरी गर्न नदिने बरू पहाडको कुनै गाउँमा कुटो कोदालो गरिरहेकी आफ्नी आमासंग खर्च माग्ने र आमाले आलु बेचेर पैसा पठाइदिने गरेको कुरा पनि खरेलले नलुकाइकन भनेका थिए । वरिष्ठ तहका अधिकृतहरूको यस्तो अवस्था सुन्दा तल्लो तहका प्रहरीको के हाल होला, उनका बालबच्चाको शिक्षादीक्षा र परिवारको दैनिकी कसरी चलिरहेको होला रु र, परिवार र प्रहरीको दुर्इवटा जिम्मेवारी अभावैअभावको चंगुलमा बेरिएर कसरी सम्भव तुल्याइरहेका होलान् भन्ने गम्भीर प्रश्न खडा हुन्छ । राजनीतिक नेतृत्वले यस्ता नीतिगत कुरातिर ध्यान दिनुको साटो अपराधीहरूको संरक्षण गरेर राजनीतिक फाइदा लिनतिर ध्यान दिन्छन् भने त्यो समाजमा कस्तो सँस्कारको विकास होला?
 
आजसम्म खरेलका विरूद्धमा तथानाम भन्ने ठाउँ मैले पाएको छैन र खरेलले त्यो नदिउन् पनि । यो उनको प्रशस्तिगान नभएर समाजले देखेको यथार्थ हो र एक नागरिकका नाताले दिएको सम्मान । यो किन जरूरी भयो भने नेपालमा एक राजनीतिक संगठनबाट सुरू भएको उनीप्रतिको गलत प्रहार विस्तारै अन्य संगठनले पनि नसिक्लान् भन्न सकिंदैन किनभने अपराधीहरूले प्रायः सबैजसो पार्टी र संगठनलार्इ आश्रय बनाएका हुनसक्छन् र मउका आँउँदा पक्राउ पर्न सक्छन् अनि पालैपालो संगठित विरोध हुनसक्छ । तसर्थ कानून हातमा लिने र कानून बाट उम्कन खोज्ने यस्ता कृयाकलापको विरोध नागरिकस्तरबाटै हुनु जरूरी छ । पार्टी र संगठनका गलत आग्रह पुरा नगरेकै कारण खरेलले यसरी अपमानित हुनुपर्ने हो भने कानूनको शासनमा विश्वास गर्ने भनेर लेखिएका पार्टीहरूका नीति, सिद्धान्त र दस्तावेजहरू केवल ढोंग मात्रै हुन् भनेर मान्नुपर्ने हुन्छ । कानूनभन्दा माथि स्वयं खरेल पनि छैनन् र उनले गल्ती नै गरे भने पनि कानूनले उनलार्इ पनि नछोडोस् । 
 
प्रहरी भन्ने वित्तिकै कुनै डरलाग्दो, हिंस्रक, राक्षसी प्राणी बुझ्ने र गाउँको मुखनेर पुलिस देखिए भने गाउँभरिका मान्छेले घरको ढोका बन्द गरेर चुकुल लगाउने अनि पुलिसको नजिकै पर्न नचाहने जमाना अहिले छैन। प्रहरीले पनि आफ्नो कब्जामा परेको व्यक्तिलार्इ कि त मंसिर महिनाको मास चुटे झैं चुटेर अधमरो बनाएर छोड्ने कि त जसरी भएपनि साबित गराएर जेलको हावा खुवाउने वातावरण पनि अहिले छैन । अहिले समाजमा अपराध नियञ्त्रण गर्न र कानुनको शासन कायम गर्न प्रहरी र नागरिक पार्टनरसिप गर्न चाहन्छन् । एकअर्कामा विश्वास गर्दै नागरिकले प्रहरीले गर्ने असल कामलार्इ ढाडस दिनु र गलत कामप्रति सजग गराउनु, अनि प्रहरीले पनि नागरिकका गुनासा अनुसार अपराधको नियञ्त्रण गर्नु नै सच्चा पार्टनरसिप हो । खरेलले अउँल्याएको पुलिस पब्लिक पार्टनरसिपको खाँचोलार्इ थप बल पुर्याउन जरूरी छ तर त्यसको विस्तृत योजनाचाहिं प्रहरीले नै नागरिकलार्इ अवगत गराउनुपर्ने हुन्छ ।
 
मैले रमेश खरेलबारे सुनेको मात्र हो उनसंग साक्षात्कार हुन पाएको छैन तर टेलिभिजनमा उनका विचार सुन्दा र कृयाकलाप देख्दा उनी नेपाली समाज र नेपाल प्रहरीका लागि एक उदाहरणीय सिपाही हुनसक्ने सम्भावना देखिन्छ, यसको मूल्यांकन त नेपाल प्रहरीले पनि गरिरहेकै होला तर कम से कम हामी नागरिकले गम्भीर त्रुटी नपाइकनै उनको अवमूल्यन गर्न सुरू नगरिहाल्ने हो कि?

,

news and entertainment