महिला तथा बालिबालिकहरू परिवारबाटै बढि मारिने
काठमाडौं ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाको परिवारबाटै बढी हत्या हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले २३ फागुनमा सार्वजनिक गरेको ‘महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी अध्ययन प्रतिवेदन २०७०’ मा महिलाको हत्या घरपरिवारबाटै बढी हुने गरेको उल्लेख छ ।
इन्सेकले गतवर्ष १७८ महिला तथा बालिकामध्ये १०८ जनालाई परिवारबाटै हत्या गरिएको जनाएको छ । गतवर्षको जनवरीदेखि डिसेम्बरसम्मको अध्ययनको आधारमा इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकका अनुसार दाइजोका कारण पाँच जना, बलात्कारपछि ६ जना र बोक्सीको आरोपमा एक महिलाको हत्या गरिएको छ । ५८ जनाको कुटपिट, ११ जनालाई विष खुवाएर, १४ जनालाई झुण्डाएर, ४८ जनाको धारिलो हतियार प्रहार, ५ जना ढुंगाले किचेर र ४ जनालाई आगो लगाएर हत्या गरिएको इन्सकेले जनाएको छ ।
यस्तै, घाँटी रेटेर तथा भिरबाट खसालेर एक–एक जना, ७ जना खुकुरी प्रहार, ५ जना लठ्ठी प्रहार, ११ जना घाँटी थिचेर र २ जनाको घन प्रहारबाट हत्या भएको छ । पाँच महिला तथा बालिकाको हत्याको कारण भने खुल्न नसकेको इन्सेकले जनाएको छ । इन्सेकका अनुसार गतवर्ष २१५ महिला तथा ४०६ बालिका बलात्कृत भएका छन् । एक वर्षदेखि ७२ वर्ष उमेरसम्मका महिला बलात्कारबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ । (हिमालखबर बाट)