डीभीका लागि अनशन बस्नेलाई नारायणीमा बगाइदिए हुन्छ : मन्त्री पण्डित


 १७ चैत, काठमाडौं । विदेशी नागरिकता र ग्रीनकार्ड लिने सरकारी कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिइरहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी भरेर विदेश जानेहरु नेपाली नभएको प्रतिक्रिया दिएका छन् । डीभीका लागि अनशनमा उत्रिनेहरुलाई ‘नारायणी नदीमा बगाइदिए’ हुने उनले कडा अभिव्यक्ति दिएका छन् ।

‘भिसा पाइएन वा डीभी परेन भनेर अनशन बस्नेहरुलाई म त नेपाली नै ठान्दिँन । ती अनशनकारीलाई त मैले पहिले नै भनेको, नारायणी नदीमा लगेर बगाइदिए पनि हुन्छ ।’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने, ‘डीभीका लागि अनसन बस्नेहरु नेपाली होइनन्, तिनका निम्ति नेपालले किन लड्नुपर्‍यो ?’
मन्त्रालयमै अनलाइनखबरसँग विशेष कुराकानी गर्दै मन्त्री पण्डितले थपे- ‘यिनीहरु नेपाललाई छाड्न लागेका हुन् र यिनीहरुले आफूलाई विदेशी भन्न रुचाएका हुन् ।’

सर्लाहीमा जन्मेर पाल्पामा स्कुले जीवन बिताएका पण्डित नेकपा एमालेका केन्द्रीय नेता हुन् । ललितपुरकी बोहोरा थरकी क्षेत्रीकी छोरीसँग अन्तरजातीय विवाह गरेका मधेसी समुदायका पण्डितले आफू नेपालको राष्ट्रियताको पक्षमा सगरमाथाजस्तै अडिग भएर उभिने बताए ।

इजिनियङरिङ र जनप्रशासन अध्ययन गरेका पण्डित ०४८ साल र ०५६ सालमा दुबैचोटि मोरङका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दथे । अन्तरिम संसदका साथै पहिलो संविधानसभामा पनि उनी सांसद/सभासद बनेका थिए । यसपालि भने पुरानालाई नदोहोर्‍याउने एमालेको नीतिअनुरुप पण्डित सभासदमा परेनन् ।
सरल र मिजासिलो स्वाभावका पण्डित पछिल्लो समय ग्रीनकार्ड लिने सरकारी कर्मचारीमाथि खनिन थालेपछि एकाएक चर्चामा आएका छन् । आखिर किन उनी यस्तो अभिव्यक्ति दिइरहेका छन् ? यसबारे बुझ्न अनलाइनकर्मीहरु सामान्य प्रशासन मन्त्रालय पुग्दा उनले भने- ‘म अहिले मन्त्री भएको छु । हिँड्ने बेलामा कुनै कलंक लगाएर हिँडि्दिन । मलाई यति विश्वास छ, म जतिदिन बसौं, नेपालको शान, आफ्नो शान राखेरै बस्छु ।’

मन्त्री पण्डितले पटक-पटक दोहोर्‍याउँदै भने- ‘म सपनामा पनि नेपाल र विपनामा पनि नेपाल देख्नेहरुप्रति गर्व गर्छु । सपनामा पनि विदेश र विपनामा पनि विदेश देख्नेहरु नेपाली होइनन् ।’
मुलुकमा कानून छैन भन्दैमा जे पनि गर्न नपाइने मन्त्री पण्डितको तर्क छ । कानूनमा लेखेको छैन भनेर म नाङ्गै हिँड्छु भन्यो भने के हुन्छ ? यसो गर्न त पाइँदैन नि ।’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने ।
‘विदेशीलाई सूचना बेच्ने’लाई पनि नछाड्ने

मन्त्री पण्डिले विदेशी नागरिकता लिने सरकारी कर्मचारीको नामावली संकलन भइरहेको बताएका छन् । यसपछि एनजीओ आइएनजीओमा लागेर भत्ता खाने र विदेशीलाई सूचना बेच्ने सरकारी कर्मचारीमाथि छानविन र कारवाही गरिने उनले जानकारी दिएका छन् ।
मन्त्री पण्डितले आफू एक राष्ट्रियताको पक्षमा रहेको बताउँदै दोहोरो नागरिकता मागिरहेका गैरआवासीय नेपाली -एनआरएन) को मागलाई समेत गलत बताएका छन् ।

,

news and entertainment