मध्यपहाडी लोकमार्गका चौध पुल बन्दै

१३ चैत, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा १४ वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेका छन् । तीमध्ये तीन वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । बाँकी ११ वटा पुल आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य मध्यपहाडीको पश्चिमखण्डले लिएको छ ।

ती ११ वटै पुलको पनि ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिइसकेको पश्चिमखण्डका परियोजना प्रमुख बलराम मिश्रले बताउनुभयो ।

baglung bridge Maldhunga
ती सबै पुलमा कामदारले काम सुरु गरिसकेको मिश्रको भनाइ छ । “ग्रिङ्दी खोला र निशी खोलाको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ, बाँकी पुलको काम पनि तीव्र गतिमा भइरहेको छ,” प्रमुख मिश्रले भन्नुभयो, “आगामी वर्षभित्र निर्माणाधीन सबै पुल सम्पन्न गर्ने लक्ष्य छ ।” ग्रिङ्दी खोलाको पुल करिब सम्पन्न भइसकेकाले केही दिनमा सञ्चालनमा आउने बताइएको छ ।

जिल्लाको ठूलो खोलामध्येमा पर्ने दरमखोलामा निर्माणाधीन पुल आउँदो असारसम्म सम्पन्न हुने मिश्रले जानकारी दिनुभयो । “आउँदो वर्षायाममा दरमखोलामा पुलबाटै यातायात चल्नेछ, त्यस्तै निशी खोलामा बन्दै गरेको पुल पनि सम्पन्न हुने चरणमा छ,” उहाँले भन्नुभयो । जिल्लाभर बन्न लागेका पुल निर्माण सम्पन्न भएपछि यसखण्डमा बाह्रैमास सिधा यातायात सुचारु हुनेछ ।

वर्षायाममा यातायात अवरुद्ध गराउने दरमखोला र भीमगिठे खोलाको पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्गको बागलुङखण्डका सिनियर डिभिजनल इन्जिनियर रोहित बिसुरालले बताउनुभयो ।

दरमखोलाको पुल आउँदो वर्षायाममै सञ्चालनमा आउने र भीमगिठेको निर्माण सम्पन्न हुन नसके पनि लोडर राखेर भए पनि यातायात सुचारु गरिने बिसुरालको भनाइ छ । ८९ किलोमिटरको बागलुङ–बुर्तिबाङ सडकखण्डमा यसैवर्षदेखि बाह्रैमास सिधा यातायात सुचारु गराउने लक्ष्य परियोजनाको छ ।

मध्यपहाडीको बागलुङखण्डमा सबैभन्दा दु्रतगतिमा काम भइरहेको जनाउँदै बिसुरालले पुल निर्माणको कामलाई पनि निर्धारित समयमै पूरा गरिने जानकारी दिनुभयो ।

यसअघि गत वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ नरेठाँटीको गौँदी खोलामा पुल निर्माणको काम सुरु भए पनि ठेकेदार कम्पनीका कारण काममा ढिलाइ भएको जनाइएको छ । “तत्काल पुल निर्माणको काम सुरु गर्न ठेकेदार कम्पनीसँग कुरा भइरहेको छ, जिम्मा लिएको कम्पनीले काम नगर्ने अवस्थामा अन्य प्रक्रियाबाट भए पनि पुल निर्माणलाई हामी गति दिन्छौँ,” बिसुरालले भन्नुभयो ।

एक सय ३५ किलोमिटरको बागलुङखण्ड सदरमुकामदेखि पश्चिम निशी गाविससम्म जोडिएको छ । निशी गाविसको सिमाना पातीहाल्ने हुँदै मध्यपहाडी लोकमार्ग रुकम जिल्ला प्रवेश गरेको छ । लोकमार्गले छोएका अधिकांश जिल्लामा यातायात सुचारु भएको र पुल निर्माणको काम पूरा भएपछि बाह्रैमास सबैतिर सिधा यातायात सञ्चालन हुने पश्चिमखण्डले जनाएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने पश्चिमका सबै जिल्लामा ट्र्याक खोल्ने काम पूरा भइसकेको पश्चिमखण्डका परियोजना प्रमुख मिश्रले बताउनुभयो । मिश्रले ठूला नदीहरुमा पुल निर्माणको तयारी भइरहको जानकारी दिनुभयो ।
कर्णाली नदीमा पुल निर्माणको काम अघि बढाइने उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गलाई सरकारले सम्पूर्ण शक्ति प्रयोग गरेकाले समयमै यसले सफलता प्राप्त गर्ने मिश्रको भनाइ छ । सरकारी प्राथमिकताप्राप्त आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पश्चिमखण्डका विभिन्न स्थानमा पुल निर्माण, सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । रासस

,

news and entertainment