श्रीमती र छोरीलाई जिउँदै जलाएर मार्ने प्रयास
२७ फागुन,सल्यान । सल्यानको कुपिण्डेदह गाविसका एकजना व्यक्तिले आफ्नी श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् । जिल्लाको कुपिण्डेदह–२ आगरनेटाका ३२ वर्षीय ठगे कवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरुलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् ।
“राति ९ बजे मदिरा सेवन गरेर आएछन्”– सुनिताले भन्नुभयो–“म निदाइसकेकी रहिछु कोठामा धुवाँ आएपछि आगो लगाएको थाहा पाएँ र ढोका फोडेर बाहिर आएँ ।” अर्को कोठामा सुतिरहेका उनका छोराहरु १३ वर्षीय हरिहर कवर र ८ वर्षीय भूपेन्द्र कवरले आफू सुतेको कोठामा छानोबाट आगो खसेपछि थाहा पाएका थिए । त्यसपछि उनीहरु पनि बाहिर निस्केर ज्यान जोगाएको पीडित महिला सुनिताले बताइन् ।
श्रीमान्ले यसअघि पटकपटक कुटपिट गर्दै आएको पीडित सुनिताले बताइन् । आगोले जलेर घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा भएका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् । घटनापछि श्रीमान् ठगेलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित सुनिताले पीडक श्रीमान्विरुद्ध ज्यान मार्ने उद्योग, बहुविवाह र अशंमुद्दा दिएकी छन् । घटनाको अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रहरीले बताएको छ । ठगेले २०५७ सालमा सुनितासँग पहिलो बिहे गरेका थिए भने ०६३ सालमा दोस्रो बिहे गरेका थिए । रासस
