बिमा संस्थानका सर्वेयर इन्जिनियरको घुस प्रकरण,घुसबारे टेप सार्वजनिक
विराटनगरमा पेट्रोलसहित ट्याङ्कर दुर्घटना भई पूर्णरुपमा क्षतिग्रस्त हुँदा बिमा स्वीकृत गरेबापत राष्ट्रिय बिमा संस्थानका सर्वेयर इन्जिनियर आमोद चौधरीले रु पाँच लाख घुस मागेको आरोप लगाइएको छ ।
पेट्रोलसहित ट्याङ्कर दुर्घटना भई आगलागी हुँदा रु ८० लाख मूल्यबराबरको क्षति भएको थियो तर घुसको रकम नमिल्दा बिमा स्वीकृत नभएको व्यवसायीको दाबी छ ।
इन्जिनियर चौधरीले घुस मागेको सम्बन्धमा सम्बन्धित व्यवसायी मनिष मारुले गरेको टेप रेकर्ड पनि सार्वजनिक गरेको छ । ट्याङ्कर व्यवसायी मनिषले निज र इन्जिनियर चौधरीसँग भएको टेप रेकर्ड पत्रकारहरुलाई सुनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बिमा संस्थानलगायत सम्बन्धित निकायमा कारबाहीको माग गरेको जनाएको छ ।
साथै नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख जगनाथ घिमिरेले इन्जिनियर चौधरी आयल निगमको पेट्रोलियम जाँचका लागि बिमा स्वीकृत गर्ने निकाय भएको बताउँदै निजको क्रियाकलापले आयल निगमलाई घाटा भएको बताए।
घटना विवरणअनुसार भारतबाट पेट्रोल ढुवानी गरी ल्याइएको ट्याङ्कर नेपाल–भारत सीमा नजिक फारविसगन्जमा दुर्घटना हुँदा रु ८० लाख बराबरको क्षति भएको थियो |
भारत बिहारको बरोनीबाट २० हजार लिटर पेट्रोलसहित दुर्घटना भएको ना४ख ३११५ नम्बरको ट्याङ्कर फारविसगन्जमा सडकबाट तल खाल्डोमा खस्दा ट्याङ्करमा आगलागी भएको थियो ।
आगलागीका कारण २० हजार लिटर पेट्रोल तथा ट्याङ्कर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फारविसगन्ज प्रहरीका अनुसार गाडीको क्याविन अगाडिको चक्का, मेसिनरी पार्टस, टङ्कीको बाहिरी र भित्री भाग जलेर कामै नलाग्ने स्थितिमा रहेको छ ।
पेट्रोलको आगोले स्थानीय एक घरको कम्पाउन्डको पर्खाल, फलामको ढोका तथा कही रुखहरु पनि जलेको पाइएको छ । आधुनिक प्रविधिको सो ट्याङ्कर दुर्घटना हुँदा त्यसका चालकसमेत घाइते भएको बताइएको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन कोसी र पूर्वाञ्चल पेट्रोलियम ढुवानी सङ्घले पनि पत्रकार सम्मेलनको आयोजना गरी इन्जिनियर चौधरीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनीसमेत दिइसकेको छ ।
झापा विर्तामोडका केशव आचार्यको नाममा रहेको सो ट्याङ्कर विराटनगरका पेट्रोलियम व्यवसायी मनिष मारुले प्रयोग गर्दै आएको बुझिएको छ । उता सर्वेयर आमोद चौधरीले ट्याङ्कर जलेको स्वीकार गर्दै दाबीअनुसार पेट्रोल नपाएकाले बिमाका लागि स्वीकृति नगरेको दाबी गरे।
पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव अरविन्द शर्माले विगत लामो समयदेखि चौधरीले ट्याङ्कर व्यवसायीलाई नियोजित रुपमा दुःख दिने गरेको निजको क्रियाकलाप शङ्कास्पद रहेको बताए। रासस