मलेसियाली विमानका चालक विपक्षी दल आवद्ध रहेको खुलासा, आन्दोलनस्वरुप अपहरण भएको आशंका
२ चैत, एजेन्सी ।
२ सय ३९ जना सहित विगत ८ दिन देखि हराइरहेको मलेसियन जम्बो जेटका पाइलट त्यहाँको विपक्षी दलसँग आवद्ध रहेको खुलेपछि जहाज पाइलटले नै अपहरण गरेको हुन सक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
सरकारविरोधी आन्दोलनस्वरुप विमान अपहरण गरिएको हुन सक्ने अनुमान अधिकारीहरुको छ ।
जहाजका पाइलट क्याप्टेन जहारी अहमद शाह समलैंगिकताको अभियोगमा जेलमा परेका मलेसियाली विपक्षी दलका नेता अनवर इब्राहिमका कट्टर समर्थक रहेको खुलेको छ ।
विमान हराउनु भन्दा एक दिन अघि मात्र पाइलटकी श्रीमती र उनका ३ जना छोरा छोरीले पुरानो घर छाडेको समेत सण्डे टाइम्सले जनाएको छ ।
मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले क्वलालम्पुरबाट बेइजिङ जानु पर्ने जहाजले रुट बदलेर केही घण्टा सम्म जानाजान उडेको पुष्टी गरेका थिए ।
विमानका सबै सञ्चार उपकरणहरु पनि उडेको केही घण्टामै निष्क्रिय तुल्याइएको अधिकारीहरुले बताएका छन् ।
राडारबाट विच्छेद भएपछि जहाज ७ घण्टा सम्म उडेको अनुमान गरिएको छ ।
शनिबार मात्र मलेसियाली पुलिसले राजधानी क्वलालम्पुरको बाहिरी भागमा रहेको पाइलट शाहको घरमा छापा मारेको थियो ।
तर उनकी श्रीमती र छोराछोरीले एक दिन अघि ने घर छोडिसकेका थिए ।
सन् १९८१ देखि मलेसियन एयरलाइन्समा काम गरेका पाइलट शाहले घर भित्रै बोइङ ७७७ को नमूना बनाएको समेत खुलेको छ ।
तर उनका साथीहरुले भने शाहले कुनै पनि हालतमा यस्तो काम गर्न नसक्ने बताएका छन् । उनले यात्रुहरुको सुरक्षालाई आफ्नो सुरक्षा भन्दा पनि महत्व दिने गरेको समेत बताएका छन् ।
शाहले चलाइरहेको जम्बो जेट मार्च ८ को विहान देखि वेपत्ता छ ।
विज्ञहरुले विमानले करिव १४ राष्ट्र नाघेर काजकस्थानमा गएर सुरक्षित अवतरण गरेको वा हिन्द महासागरमा दुर्घटनामा परेको हुन सक्ने बताएका छन् ।
अनुसन्धानकर्ताहरुले हवाइ उडानमा निक्कै राम्रो ज्ञान भएको ब्यक्ति वा समूहले विमानलाई फरक दिशामा लगेको बताएका छन् ।
मलेसियाली प्रधानमन्त्री सहित बरिष्ठ अधिकारीहरुले विमान अपहरण भएको निष्कर्षमा पुगिसकेको बताएका छन् ।
अहिले पनि १३ देशका ५७ जहाज ४८ हवाइजहाजले हराइरहको जहाजको खोजी जारी राखेका छन् ।
