माईत गएकी श्रीमतीलाई लिन जादा सासुले ज्वाईलाई कुटेर मारियो

विराटनगर : मोरङको बवियाबिर्ता ३ की ५१ वर्षीय वसन्ती माझीले कुटपिट गरेर मंगलबार बिहान आफ्नै ज्वाइँको हत्या गरेकी छन्। सासुको कुटपिटबाट बवियाबिर्ता ३ का ३३ वर्षीय खगेन्द्र माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक पोखरेलले बताए।

घरायसी विवादपछि सात महिना अघिदेखि माइतमा बस्दै आएकी आफ्नी पत्नीलाई लिन गएका खगेन्द्रलाई सासुले कुटपिट गरेको डिएसपी पोखरेलले बताए। आफ्नी छोरीलाई हेला गरेको र घरमा बस्न नदिएको भन्दै सासुले खगेन्द्रलाई सोमबार कुटपिट गरेको प्रहरीले जनाएको छ।

सासुले लाट्ठीले हानेर टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेपछि आफ्नो घरतर्फ लागेका खगेन्द्रको सुतेकै ठाउँमा मंगलबार बिहान मृत्यु भएको हो। प्रहरीले ज्वाइँको हत्या गर्ने वसन्तीलाई पक्राउ गरेर रंगेलीमा राखेको छ।

आफू मदिरामा लट्ठ भएकाले घटनाका बारेमा थाहा नभएको वसन्तीले बताएकी छन्। उनलाई कर्तव्य ज्यान मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्लेले बताए।

,

news and entertainment