फिल्म फ्लब, क्रिकेट हिट ! सेलिब्रेटीलाई चढ्यो विश्वकपको ज्वरो
पहिलो खेलमा नै हङकङलाई भारी रनले हराएपछि ‘विश्वकप ‘ट्वान्टी-ट्वान्टी’मा नेपालले आफूलाई बलियो टिमको रुपमा उभ्याएको छ । नेपालले पहिलो खेलमा नै जीत हासिल गरेपछि सिङ्गो नेपाल नै खुशीले गद्गद् छ । यो खुशीबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन सकेका छैनन् । यतिबेला सबैलाई क्रिकेटको ज्वरोले छोएको छ । कतिपय कलाकारले छायांकन स्थलबाट विश्राम नै लिएर क्रिकेट हेरिरहेका छन् भने कतिपय कामकै बिचबाट नेपाललाई साथ दिइरहेका छन् । एकातिर हलमा सिनेमाहरु ३ घन्टा पनि टिकेका छैनन् । अर्कोतिर तिनै कलाकार क्रिकेट हेर्न मस्त छन् । यसैले यतिबेला नेपाली सिनेमा फ्लब, क्रिकेट हिट भैरहेको देखिन्छ ।
नायक जीवन लुइटेललाई जस्तो क्रिकेटको ज्वरोले अरु कसलाई छुन्छ र ? क्रिकेट भनेपछि हुरुक्कै हुने जीवन नेपालले सुपर १० मा प्रवेश पाएको खण्डमा बंगलादेश नै जाने तयारीमा छन् । उनले नायक विनय श्रेष्ठ र आफ्नै भाइसँग मिलेर ठूलो पर्दामा आजको गेम हेर्ने तयारीमा लागेको बताए ।
यता हाँस्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हङकङसँगको खेल जित्दा निक्कै खुशी लागेको जनाएका छन् । रेष्टुरेन्टमा ठूलो पर्दामा उनीहरु बंगलादेशसँगको खेल हेर्ने तयारीमा छन् ।
नायिका वेनिशा हमालले हङकङसँग लोडसेडिङका कारण नेपालको ब्याटिङ हेर्न नपाएपनि बलिङ भने हेरेको बताइन् । उनले नेपालले विकेट लिदा आफू निक्कै खुशी भएको जनाउँदै आज बंगलादेशसँग पनि नेपालले खेल जित्नेमा विश्वस्त रहेको बताइन् । बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक रहेको बताउँदै उनले नेपालका लागि यो खेल ठूलो मौका भएको बताइन् । उनी नेपाली टिमका क्याप्टेन पारस खड्का मनपर्ने खेलाडी भएको बताउँछिन् ।
क्रिकेटको रौनकले नायिका केकी अधिकारीलाई पनि छपक्कै छोएको छ । उनका फेसबुक स्टाटसहरुमा क्रिकेट सधै नै छाएको हुन्छ । उनले हङकङसँगको खेल नेपालले जित्दा आफूलाई नेपाली भएकोमा गर्व लागेको प्रतिक्रिया दिइन् । उनले क्रिकेट अवधिर आफू निक्कै चिच्चाएको बताउँदै स्वर सुकेपनि नेपालका लागि हुटिङ गर्न नछोड्ने जनाइन् । केकीले हङकङसँगको जस्तै खेल नेपालले आज पनि दोहोर्याएमा बंगलादेशलाई जित्न असम्भव नहुने बताइन् ।
अर्की नायिका प्रियंका कार्की नेपालको पहिलो खेलको जस क्याप्टेन पारस खड्कालाई नै दिनुपर्ने बताउछिन् । बंगलादेश नेपालभन्दा बलियो टिम भएतापनि क्रिकेटमा जे पनि हुन सक्ने बताउँदै उनले ज्यान लगाएर खेलेमा जीत असम्भव नरहेको बताइन् ।
अन्य कलाकारहरु पनि बंगलादेशसँगको खेल नेपालले जित्नेमा ढुक्क छन् । नेपालको खेल स्पिरिट राम्रो भएकाले पनि जीत असम्भव नरहेको उनीहरुको तर्क छ । आज बेलुकी सवा ७ बजे, नेपाली कलाकारको आँखा पर्दामा हुनेछ
