यसरि होलीको रमाइलोमा रङ्गियो राजधानी (फोटोफीचर)
काठमाडौँ। रङहरूको पर्व होली आज देशभर हर्षोल्लासपूर्वक मनाइयो । देशका अन्य भागमा जस्तै राजधानीमा पनि युवायुवती, वृद्ववृद्वा, बालबालिकादेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकसमेत होलीको रङमा झुमेका देखिए ।
यस्तै, टुँडिखेल र अन्य सार्वजनिकस्थलमा पनि गीत सङ्गीतसहितको होली कार्यक्रम आयोजना गरिए । आफूखुशी गीत गाउने र नाच्नेको पनि लर्को देखिएको थियो । युवायुवती ‘लुङ्गी’ नाच तालमा दर्शकलाई आफूतिर ध्यान तान्न जुटेका पनि देखिए । अरू दिनको तुलनामा आज राजधानीमा न्यून सवारी साधन चलेका सडकमा पनि होली यात्रीहरू निर्धक्क रमाएका थिए ।
सवारी साधन कम चलेपनि बजारका चहलपहल र मानिसका ओहोरदोहोरका कारण राजधानी दिनभर होलीमा व्यस्त भयो । रङहरू र नृत्यको माहोल रौसियो । उपत्यकामा खासगरी युवापुस्ता र पर्यटक आपसमा रङ दलेर शुभकामना आदानप्रदान गरेर होली पर्वको मज्जा लिइरहेका देखिन्थे । यो क्रम साँझसम्म पनि जारी रह्यो ।
“अन्नपूर्ण पदयात्राको भ्रमणबाट भर्खर फर्केको थिएँ, रङ दलेर आपसमा खेलिने होली पर्वमा सहभागी हुन पाउँदा निकै रमाइलो लाग्यो,” अष्ट्रेलियाली पर्यटक क्याट्रिनाले भनिन्, “यस्तो खुशीयाली मेरो जीवनमा अहिलेसम्म आएको थिएन ।” वसन्तपुरमा जापान, चीन, दक्षिण कोरिया, भारत, न्यूजिल्यान्ड, क्यानडा, अष्ट्रेलियालगायत मुलुकका नागरिकहरू होलीको स्वाद लिइरहेका देखिन्थे ।
तीमध्येका एक चिनियाँ पर्यटकले भने, “नेपालको यो संस्कृति र उत्सव अनुकरणीय लाग्यो ।” उनले थपे, “यस्ता पर्वले नेपाल र चीनबीचको लामो र असल सम्बन्धलाई थप मजबुत बनाउन योगदान दिने विश्वास लिएको छु ।”
होलीको यो उत्सवलाई आफ्ना माध्यममा सम्प्रेषण गर्न टेलिभिजन, रेडियो र छापा माध्यमका सञ्चारकर्मी आफै होलीमा रङ्गिएर रिपोर्टिङ गर्न व्यस्त थिए । वसन्तपुरमा नयाँ पुस्ताका युवायुवतीले विभिन्न समूहमा सहभागी भएर राष्ट्रिय झण्डा फहराउँदै ‘नेपाल’ लेखिएको व्यानर प्रदर्शन पनि गरेका थिए । ट्वान्टी–ट्वान्टी क्रिकेटमा आज हुने नेपाल र हङकङको प्रतिस्पर्धामा नेपालको विजयको कामना गरिरहेका थिए, होली मनाउने युवायुवतीले ।
आज बिहानैदेखि राजधानीका विभिन्न गल्ली र टोलटोलमा लोला हान्ने, पानी छ्याप्ने र रङ्ग दल्ने क्रम सुरु भएको थियो । तर विगत वर्षको तुलनामा यो वर्षको होलीमा विकृतियुक्त घटना कम देखियो । प्रहरीको निगरानी र जबर्जस्ती रङ लगाइदिने र छतबाट पानी फाल्नेलाई कारबाही गर्ने चेतावनी दिइएका कारण सुधार आएको हो भन्न सकिन्छ । यही क्रममा ट्राफिक प्रहरीले राजधानीका विभिन्न ५३ स्थानमा सवारी जाँच गरेको थियो ।
होली पर्वमा हुन सक्ने सवारी दुर्घटना नियन्त्रण गर्न प्रहरीले बिहानैदेखि जाँच कार्यलाई तीव्रता दिएको र सवारी नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउनेलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।
www.hamrakura.com
