दीक्षितलाई दिएको रकमबारे छानबिन हुन्छ : नर्वेली राजदुत
काठमाडौ, वैशाख ५ - अमेरिकी र नर्वेली राजदुतले आज बिहान लाजिम्पाट पुगी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरेका छन् । दाहालसँगको भेटमा नर्वेली राजदुत केजल तर्मोड पिटरसनले शान्ति प्रक्रियालाई सघाउन नर्वे सरकारले नेपालका बिभिन्न संघसंस्थालाई आर्थिक सहायता दिएको जानकारी गराएका थिए ।
पिटरसनले साउथ एसिया ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रुपैयाँ दुरुपयोग भएको भए दुताबासले छानबिन गर्ने बताए ।
जवाफमा अध्यक्ष दाहालले शान्ति प्रक्रियाका लागि नर्वेली सहयोग सकारात्मक भएको बताएका दाहालका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए ।
पिटरसनसँग दाहालले नर्वेली सरकारबाट सहयोग पाएका केही व्यक्ति सम्मिलित सञ्चार माध्यमले नेपालको शान्ति प्रक्रिया भाड्न खोजेको बताएका थिए ।
एमाओवादी सभासद् शक्ति बस्नेतले बिहीबारको संसद वैठकमा नर्वेली दुताबासबाट साउथ एसिया ट्रष्टको नाममा दीक्षितले रकम लिएको भन्दै सम्झौंतापत्र सार्वजनिक गरेका थिए ।
दाहाललाई भेट्न लाजिम्पाट पुगेका अमेरिकी राजदुत पिटर बोडेले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे जिज्ञासा राखेका थिए । बोडेले विधेयकमा गम्भीर प्रकृतिको अपराध गरेका व्यक्तिलाई माफी दिने प्रावधानबारे जिज्ञासा राखेको दाहालका स्वकीय सचिव खड्काले बताए ।
उनले आयोग बनाउदा मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई पनि पनि विचार पुर्याउन आग्रह गरेका थिए ।
दाहालले बाहिर प्रचार भएजस्तो विधेयकमा आममाफीको प्रावधान नरहेको प्रष्टीकरण दिए । दाहालले आयोग बनेपछि गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघन गर्नेलाई कारवाही दायरामा ल्याइने बताए ।
आयोगको विधेयक बुधबार नै संसदमा प्रस्तुत गर्ने कार्यकतालिका भएपनि एमाओवादीले संसद अवरुद्ध गरेका कारण विधेयक दर्ता हुन पाएको छैन् ।
एमाओवादीले गोरखा फुजेल काण्डमा आफ्ना दुई कार्यकर्ता पक्राऊ गरिएको विरोधमा संसद् अवरुद्ध गरेको हो । बिहीबार चितवन अदालतले दुवैजनालाई धरौटीमा रिहा गर्ने फैसला सुनाएपछि एमाओवादी संसद सूचारु गर्न सकारात्मक देखिएको छ ।
