एसीसी प्रिमियर लिगमा नेपालको तेस्रो जित: हङकङ ७ विकेटले पराजित
क्वालालम्पुर, वैशाख २२ - मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा सोमबार भएको खेलमा हङकङविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । हङकङले दिएको १८२ रनको लक्ष्य नेपालले ३४ दशमलव १ ओभरमै पूरा गर्यो । बायोमास मैदानमा टस जितेको नेपालले फिल्ड रोजेर हङकङलाई सस्तैमा समेट्यो ।
२७ दशमलव ४ ओभर खेल्दै गर्दा पानी परेपछि झण्डै डेढघण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि खेल १२ ओभर छोट्याइएको थियो । छोट्याइएपछि नेपालका लागि विजय लक्ष्य १४४ रन निर्धारण गरिएको थियो ।
ब्याटिङको निम्तो पाएको हङकङले ४१ दशमलव ५ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तय गरेको थियो । हङकङका लागि इरफान अहमदले १ सय १५ बलमा ३ छक्का र १० चौकासहित सर्वाधिक १ सय ६ रनको योगदान दिए भने निजाकत खानले २ छक्कासहित १७, वाकसतले १६, लाम्साङले १८ र कप्तान एटिक्सनले ११ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३४ रन खर्चिएर सर्वाधिक ४, बसन्त रेग्मीले ३ र अरिफ शैखले २ विकेट लिएर जितका लागि पाएको अवसरको सदुपयोग गरे ।
यसैबीच सोमबारै किनरारा ओभलमा भएको खेलमा युएईले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै घरेलु टीम मलेसिया उपाधिको अवसरबाट बाहिरीएको छ ।

