बिदेश गएका अधिकांश युवाहरू घरकी श्रीमती बिर्सिदै

म त हिँडे अब मलाई फोन नगर्नु, पाप, धर्म जे होला आफैं भोग्छु,' धर्मबहादुर रोकायाले मोबाइलमा आएको पत्नी राधाको यस्तो एसएमएस पत्याउन सकेनन् । ३ वर्षअघि अभिभावकसँग विद्रोह गरी प्रेमविवाह गरेका उनले हुनेखाने घरकी छोरीले यसो गर्लिन् भन्ने कल्पना पनि गरेका थिएनन् । रोजगारीका लागि विदेश जाँदा जिल्लाको दुर्गम गाउँ जोगबुढाबाट उनकी पत्नी विमानस्थलसम्म काठमाडौं पुगेकी थिइन् । 'विदेश पुगेपछि धेरैले घर बिर्सिन्छन्, त्यसो गर्‍यौ भने म आत्महत्या गर्छु,' विमानस्थलमा राधाले आँसु पुछ्दै भनेका शब्द उनी झलझली सम्भिmन्छन् । घर नफर्किंदै उनका सपना चकनाचुर भए । कम्पनीमा काम गरिरहँदा पत्नीले पठाएको एसएमएस पढेपछि उनी मूर्छित भए ।


आलीताल ३ का बलराम धामी पनि यस्तै नियतिको सिकार भए । १ छोरीका बाबु उनले रोजगारीका लागि मलेसिया पुगेको २ वर्षमै पत्नी गाउँकै काका नाता पर्नेसँग बेपत्ता भएको खबर उनले पाए । बेलापुरका नरेन्द्र ऐरले पनि रोजगारीका लागि कतार पुगेको २ वर्षपछि पत्नी अर्कैसँग गएको र आफन्तले जारीसमेत बुझेको खबर पाए । मणिलेकका दलबहादुर कामीलाई पत्नी आफैंले फोन गरेर दोस्रो विवाह गरेको जानकारी दिइन् । 'लाउँला र खाउँला बाचाबन्धन गराएर बिदेसिनुपर्छ, आउँदा न सम्पत्ति हुन्छ, न परिवार,' रोकायाले भने ।

जिल्ला प्रहरी प्रमुख डीएसपी भोजदेव खतिवडाको भनाइमा यी उदाहरणमात्र हुन्, बिदेसिएका कतिपय पति/पत्नीका समस्याबारे दिनैपिच्छे उजुरी/जानकारी आउने गरेका छन् । 'पतिले कमाएर पठाउने पैसा र छोराछोरी सदरमुकाममा पढाउने निहुँमा गाउँ छाडेपछि यस्ता घटनामा अचानक वृद्धि भएको छ,' खतिवडाले भने, 'बिदेसिएकाहरू घर फर्किंदा न कमाएको धन नै पाउँछन् न पत्नी नै ।' प्रहरीले यस्ता घटनामा मिलापत्र गराउने, समाजका मान्छे र अभिभावक राखेर दुवै पक्षलाई परिवार विखण्डन हुन नदिन दबाब दिने र नमिले मात्र अदालत पठाउने गरेको उनले बताए ।

विदेशमै पत्नीसँग सम्बन्ध टुटेको खबर सुन्ने युवाको बढ्दै गएको छ । '३ महिनायता यस्ता डेढ दर्जन घटना सार्वजनिक भएका छन्,' कानुनी सहायता परियोजना डडेलधुराका अधिवक्ता नरेन्द्र रोकायाले भने, 'वैदेशिक रोजगारमा गएका युवाका परिवारले सम्बन्धविच्छेद चाहेका घटना त ६ दर्जन नाघेका छन् ।'

जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेदका ४२ वटा मुद्दा दर्ता भएका छन् । अदालतसम्म नपुगी कानुनी सहायता परियोजनाको मध्यस्थतामा मिलापत्र गर्नेको संख्या अझै ठूलो छ । अधिवक्ता रोकायाका अनुसार ८ महिनायता ६२ वटा मुद्दा आएका छन्, पति विदेशमै छँदा अर्कैसँग बिहे गर्ने र पति फर्केपछि सम्बन्धविच्छेद चाहने दुवैखाले घटना

छन् ।

,

news and entertainment