एक्लो छोराले दलित युवतीसँग प्रेम विवाह गरेपछि…


चितवन, १९ जेठ । दलित युवतीसँग बिहे गरेका कारण नारायणगढमा नेवार समुदायका एक युवक घर निकाला भएका छन् ।
भरतपुर नगरपालिका ३ नारायणगढबजारका दिब्बेश पियाले आफू घर निकाला हुनु परेको भन्दै आमाबुबासहित परिवारजनका ६ जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा वुवा दिनेश पिया, आमा करुणा पिया, ठूलो बुवा माधव पिया, कान्छी आमा चिना पिया र मामा दीपेन्द्र श्रेष्ठ सहित ६ जनाबिरुद्ध मुद्धा दर्ता गरेका हुन् ।
पियाले २०७० साल जेठ १२ गते भरतपुर नगरपालिका वडा नम्वर–२ क्षेत्रपुरकी संस्कृति घिमिरे (विश्वकर्मा¬¬) लाई सामाजिक पराम्परा अनुसार विवाह गरेका थिए । प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाहपछि घरमा बस्न नदिइएको पीडित दम्पतीले बताए । ‘कमिनी’ विवाह गरेको भनी घर निकाला गरी जातिय बिभेद गरेकाले जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार मुद्दा दर्ता गरिएको छ । कक्षा–१२ मा अध्ययनरत पिया र विश्वकर्मा दुवै जना २० बर्षका छन् । अध्ययनकै क्रममा प्रेम सम्वन्धमा परेकाले आपसी समझदारी अनुसार विवाह गरेको दुवैजनाको भनाइ छ । भरतपुर नगरपालिकामा २०७० साल चैत्र १७ गते उनीहरुको विवाह दर्ता भएको छ ।
दलित युवतीलाई विवाह गरेपछि आफूलाई परिवारजनले अपहरणको शैलीमा अंशवण्डाबापत ५० लाख रुपैयाँ बुझेको कागजमा हस्ताक्षर समेत गराएको पीडित युवकले बताए । “मलाई अपहरण जस्तो गरी यो कागजमा सही गर्ने भए गर, नत्र तेरो केटीलाई जे पनि गरिदिन्छौ भनेर कागजमा जबरजस्ती सही गराए, मलाई एकरुपैया पनि पैसा दिइएको छैन”– पियाले भने ।
परिवारका एक्ला छोरा दिव्वेशले जन्मदिने बाबु आमावाट आफूले असह्य पिडा पाएपछि मुद्दा दर्ता गर्न बाध्य भएको सुनाए । भने, “मैले र मेरो श्रीमतीले छोएको नखाएपनि केही फरक पर्दैन । तर, घरमा बस्नै नदिन त भएन नि !” घरपरिवारजनवाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोरेको उनले बताए ।

छोरासँग मोटरसाइकलमा सँगै हिड्यो भनेर आफूलाई तानेर लछारपछार समेत भएको पीडित युवती संस्कृतिले बताइन् । “घरमा बुवाआमालाई समस्या हुन्छ भने हामी एउटै चुलोमा खाना नखाउँला । तर, दलितलाई बिवाह गरेकै कारण यो हदसम्मको अन्याय बेहोर्नुृपर्‍यो, पढ्ने लेख्ने उमेरमा हामीलाई यो संकट र तनावमा पारिएको छ”– उनले भनिन् । घरनिकाला भएपछि अहिले दुबैजना माईतीको शरणमा बस्दै आएको उनले बताइन् ।
जिल्ला प्रहरीका कार्यलयमा आइतवार मुद्दा जाहेरी दर्ता भएको पुष्टि गर्दै प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले घटनाले आफूलाई समेत मर्माहत तुल्याएको प्रतिक्रिया दिए । “आफ्ना बावुआमा बिरुद्ध मुद्दा दर्ता गर्नुपर्ने विवशता अत्यन्त दुखद छ, हामी सम्बन्धितहरुलाई पहिले बोलाएर आपसी छलफल गर्छौ । समस्या नसुल्झिाए कानुनी प्रक्रिया अनुसार मुद्दा अघि बढ्छ”– कार्कीले भने ।
नवविवाहित दम्पत्तीलाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरुले संघर्ष समिति गठन गरेका छन् । समितिका अध्यक्ष सहदेव लकान्द्रीले एक बिज्ञप्ति जारी गरी जाहेरी माथी अवाश्यक कार्बाही तत्काल अघि बढाउन माग गरेका छन् । ‘जाहेरी माथी आवश्यक कावाृही गर्न आनाकानी र ढिलासुस्ती भएमा संयुक्त राजनीतिक दलित संघर्ष समिति जस्तासुकै चुनौतीलाई प्रवाह नगरी आन्दोलनमा उत्रनेछ,’ बिज्ञप्तीमा भनिएको छ । समितिमा जिल्लास्थित कांग्रेस, एमाले, एमाओवादी, माओवादी निकट दलित संगठनका अगुवा, विश्वकर्मा सेवा समिति र सुनचाँदी व्यवसायी संघका प्रतिनिधि छन् ।
तीर्थ नेपाल
dainiknepal

, ,

news and entertainment