आफ्नैले पार्छन् चेलीलाई बिचल्ली

२३ जेठ, काठमाडौं ।
खुरुखुरु मालिकको घरमा काम गरिरहेकी युवतीलाई आफ्नै देशका एक युवकले फकाउन थाल्छ। घुमफिरको दैनिकी, अनि राम्रो कमाइको प्रलोभनमा उनी हाउसमेडको काम छाडेर उसकै पछि लाग्छिन्। सुरुमा दुवै साथै बस्छन् , रमाइलो गर्दै। जब खर्चको पारो बढ्दै जान्छ, समस्या सुरु हुन्छ। तीतो सम्बन्धमा हिंसा प्रेवेश गर्छ, युवती बाटामै आइपुग्छिन्।

'नेपाली हाउसमेडहरुलाई नेपालीले नै भगाउँछन्, निहित स्वार्थ्यका लागि,' बहराइनस्थित नेपाली दूतावासका कार्यालय प्रमुख ओमकुमार भण्डारीले भने,' यसले हाम्रो चेलीको बिचल्ली हुँदै गएको छ।

खाडी क्षेत्रमा बहराइन खुला समाज हो। राजधानी सहरमानमामा अन्य कट्टर मुस्लिम सहरहरुभन्दा विपरीत खुला सामाजिक जीवनको सुविधा छ। यही परिवेशमा संख्यात्मक रुपले बढ्दै गएको नेपाल आप्रबासी कामदार समुदायमा आफैलाई मर्का पर्ने व्यवहार मौलाउँदै गएको छ।

'बदमास नेपाली दाजुभाइकै कारण चेलीहरु पीडित छन्,' समस्यामा परेका महिलाहरुलाई उद्धार गर्दै आएकी सिन्धुपाल्चोककी कृष्णकुमारी विष्ट भन्छिन्। घरेलु कामदारले मासिक तलब सालाखाला ७५ डनार अर्थात १९ हजार रुपैयाँसम्म पाउँछन्। यहाँ पनि कतिपय मालिकले नेपाली चेलीहरुलाई घरमै थुनिराख्ने, नियमित तलब नदिने गर्छन्। यही समस्याले समेत चेलीहरु भागेर सजिलो खोज्छन्। बाहिर आइसकेपछि स्थानीय कानुनअनुसार अवैध कामदारले बाहिर सजिलै काम पनि पाउँदैनन्।

यस्तो परिबन्दमा  परेका चेलीहरु रेस्टुरेन्ट, डान्सबारमा जोखिमपूर्ण अवस्थामा काम गरिरहेका समेत भेटिन्छन्। कतिपयले अर्को अवैध धन्दा देह ब्यापारका लागि कोठीसमेत चलाएको पाइन्छ।

'घरबाट निस्केपछि झन यातना पाएँ,' राई थरकी एक युवतीले भनिन्, 'हामीले नचाहिएको काम गर्नुपरिरहेको छ।' यहाँ कठीन कुरा बस्तु नै हो । ' कोठाभाडा महंगो छ।  भनेका जस्ता साथी पाइदैनन्। एक्लैले त्यो तिर्न सकिदैन,' उनले भनिन्, 'कि केटा साथीको शरणमा बस्नुपर्‍यो कि अवैध बाटो अपनाउनु पर्‍यो।' आजको कान्तिपुरमा खबर छ ।

,

news and entertainment