वामदेवको 'दण्ड' रमेश खरेललाई फुटबलको धीत मार्ने अवसर

प्रहरीका 'हिरो' उनी फुटबल, भलिबल र ह्याण्डबलको नामुद खेलाडी

एआइजी बढुवा खान ब्रिफकेस लेनदेन भएको सार्वजनिक अभिव्यक्ति दिएवापत काठमाडौंका प्रहरी प्रमुख रमेश खरेल अघोषित करबाही भोगिरहेका छन्। दवावपूर्ण बिदामा छन्। काठमाडौं प्रहरीको नेतृत्व निमित्तले धानिरहेका छन् ।
 
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको तारो बनेर विश्राम पाएका खरेललाई यो 'दण्ड' पनि अवसर भएको छ। 
 
काठमाडौं प्रहरी प्रमुखलाई 'साँस फेर्ने फुर्सत' निकाल्न गाह्रो छ। विदा स्वीकृत गराएर घर बसिरहेको खरेलले मस्तीसँग विश्वकप फुटबल हेर्न पाएका छन्। पुलिसमा भर्ना हुनुभन्दा अघि २०४३ (सन् १९८६) साल को विश्वकप मात्र धीत मर्नेगरि हेरेका यीनलाई २८ वर्षपछि त्यस्तै मौका जुरेको छ। बेरोजगार हुँदाको जस्तै फर्सत मिलेको छ।  
 
२०४६ सालमा प्रहरीमा प्रवेश गरेपछि खरेलले कामलाई नै सर्वोपरि ठान्दै आएकोृ प्रमाण यीनले बनाएको अग्लो व्यक्तित्व हो। 
 
आम मूल्यांकनमा अब्बल प्रहरी अधिकृतको दर्जा पाएका खरेल नामुद खेलाडी पनि हुन्। राष्ट्रिय टिमको भलिबल खेलाडीको रुपमा उनी प्रहरीमा छिरे। प्रहरीमै फुटबल पनि खेले। 
 
उमेर बढेर जीउमा तागत घटेपछि खेलाडीले अवकास लिन्छ। नयाँ र अझ जुझारुलाई अवसर दिन्छ। तर खेलाडी मन कहिल्यै निवृत्त हुँदैन।
 
खेलाडीलाई विश्वकप जस्तो महाउत्सवले जुरुकजुरुक बनाइहाल्छ। खरेल भलिवल, फुटवल मात्र नभएर ह्याण्डबलको समेत अन्तर्राष्ट्रिय खेलाडी हुन्। यो फुर्सतले खेलाडी खरेललाई धीत मर्नेगरि 'वर्ल्ड कप' हेर्ने मौका जुराइदिएको छ।
 
एउटै व्यक्ति कतिवटा बिधामा 'उत्कृष्ट' हुनसक्छ भन्ने उदाहरण खरेल आफै हुन्। पचास वर्षीया खरेल तीस वर्षको उमेरसम्म फुटबल, भलिवल र ह्याण्डबल खेलाडी थिए।
 
'स्कूलदेखि नै म अलराउण्डर हुँ,' खरेल भन्छन्, 'छुट्टि बस्ने मौका पाएकाले वर्ल्ड कपको सबै खेल हेरेर वर्षौदेखिको धित मार्न पाइरहेको छु।'
 
प्रहरीमा आइसकेपछि पनि नेपालको प्रतिनिधित्व गरेर ह्याण्डवलको एशियन च्याम्पियनसिपमा भाग लिन उनी जोडर्नसम्म पुगे।
 
२०४३ सालदेखि २०४८ सालसम्म राष्ट्रिय टिमको भलिबल खेलाडी थिए। पछिल्लो एक वर्ष उनी राष्ट्रिय टिमको पनि कप्तान थिए। 
 
प्रहरीमा प्रवेश गरेपछि एकसाथ भलिबलको कप्तान र फुटवल खेलाडी पनि थिए। प्रहरी तालिम केन्द्रको टिममा बसेर खरेलले तीन वर्षसम्म लगातार फुटबल खेले। 
 
उनी रक्षापंक्ति (डिफेन्स)का खेलाडी थिए। त्यतिबेला डिफेन्सलाई बोलिचालीमा ब्याक्की भन्ने चलन थियो। वलिष्ठ शरिर, अर्जुन दृष्टि सहित एकाग्र भएर फुटबल खेल्ने खरेलको प्रशंसा गर्दै एकेडेमीमा भनिन्थ्यो, 'ब्याक्की कस्तो खम्बा जस्तो।'     
 
ल्यावरोटरी स्कूल किर्तीपुरमा पढ्दादेखि नै धेरैजसो खेलमा उनी नै प्रतिनिधित्व गरेर भाग लिन जानुपर्थ्यो। प्रहरीमा पनि त्यो अवसर जुरिरह्यो। 
 
तीस पुगेपछि भने उनले खेल्न छाडे। तैपनि फुटबलसँगको नाता कायमै रह्यो। महेन्द्र पुलिस क्वलले भाग लिने फुटवलको विभिन्न स्पर्धामा उनी जोडिए, टिम मेनेजरको रुपमा। 
 
मानिसको छोटो जिन्दगीमा धेरै बिधासँग जोडिने मौका कमैलाई जुर्छ। अझ सबैतिर नाम कमाउने खरेलको जस्तो मौका दुर्लभ नै हुन्छ। 
 
कडा मिहेनत विना त्यो कुनै हालतमा सम्भव छैन। प्रहरीको जिम्मेवारी थपिँदै गएपछि खरेलले आफ्नो ऊर्जा अपराध नियन्त्रण र अनुसन्धानमा खर्चिन थाले। 
 
त्यसैले विश्वकपका धेरैजसो खेल हेर्ने मौका जुर्दैनथ्यो। 'रिप्ले हेरेर पनि चित्त बुझाउनुपर्थ्यो,' यसअघिका विश्वकपहरु सम्भि्कँदै उनी भन्छन्, 'महत्वपूर्ण खेल निद्रा मारेर भएपनि हेरिन्थ्यो।'
 
यसपाला खरेललाई त्यस्तो कुनै सुर्ता छैन। रातभरि जागा बसेर पनि फुटबल हेर्ने समय छ। कामको पीर छैन। निद्रा पुर्‍याउन चौविस घन्टामै आफ्नो राज छ।
 
तीन रातदेखि लगातार फुटबल हेरिरहेका खरेल आइतवार राती पनि खेल हेर्ने सुरमा छन््। अर्जेन्टिना र म्यारोडोना जमेको सन् १९८६ को विश्वकप देखि मात्र खरेलले पनि टिभीमा विश्वकप हेर्न थालेका हुन्। अर्जेन्टिनाको खेल हेर्न उनी उत्साही छन्। 
 
तर उनले समर्थन गर्ने टिमको पालो भने भोलि मात्र आउँदैछ। 'जर्मनी मेरो फेबरेट टिम हो,' खरेलले भने, 'पोर्चुगलसँग पहिलो खेल हेर्न म आतुर छु।' खरेलले जर्मनीको जर्सी नै किनिसकेका छन्। 
 
खरेल किन जर्मनीका फ्यान भए त?
 
'नेपाल टेलिभिजनले २०४३/४४ सालतिर हप्तैपिच्छे 'फुटबल मेड इन जर्मनी' देखाउँथ्यो,' छव्वीस/सत्ताइस वर्षअघिको समय सम्भि्कंँदै खरेल भन्छन्, 'त्यतिबेलादेखि नै जर्मनीसँग पिरती भयो।'
खरेल पत्नी रञ्जुको मोह भने अर्कै टिममाथि छ। उनी ब्राजिलकी फ्यान हुन्।

, , ,

news and entertainment