गणेश थापाको काउन्ट डाउन सुरुः उपाध्यक्ष कर्माछिरिङ


अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष गणेश थापाको काउन्टडाउन सुरु भएको बताएका छन्।
 
एन्फा भित्रको पछिल्लो गतिविधिले थापालाई अप्ठेरो पारेको बताउँदै उनले थापा अब अध्यक्षमा धेरै समय टिक्न नसक्ने सेतोपाटीलाई बताएका छन्।
 
गणेश थापा अध्यक्षबाट हट्ने समयको दिनगन्ती सुरु भयो, उनले भने, एन्फाभित्र भएका अनियमितताका विषयमा थापाले गरेको कामहरुको अब पर्दाफास हुन्छ।
 
सोमबार एन्फा कम्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गरी थापाले दिएको अभिब्यक्ती प्रति उनले आपत्ति जनाए। 
 
थापाले पत्रकार सम्मेलनमा कर्माछिरिङ शेर्पा लगायतकाले राखेको १८ बुँदे आरोप हावादारी भएको र प्रमाणित गरे फाँसी दिन सरकारसँग आग्रह गर्ने बताएका थिए। हेर्नुहोस् समाचारमा-म माथि लागेको आरोप प्रमाणित भए फाँसी दिईयोस:गणेश थापा
 
उपाध्यक्ष शेर्पाले आफूहरुको राखेको  एउटा मात्र माग हावादारी भए प्रमाण लिएर आउन थापालाई चुनौती दिए । हामीले १८ बुँदे मागको सप्रमाण अख्तियारमा पेश गरेका छौं, दुधको दुध र पानीको पानी हुन्छ, उनले भने।
 
थापाले पत्रकार सम्मेलनमा प्रमाणबीना थापाले धारणा राखेको बताए । स-प्रमाण पत्रकार सम्मेलन गर्न उनले थापालाई सुझाब समेत दिए ।
 
कतारी फुटवल संघ र फिफाबाट लिएको रकम आफनो व्यवसायका लागि लिएको भन्ने थापाको भनाइप्रति शेर्पाले कडा आपत्ति जनाए।
 
हमामसँग गणेश थापाको के सम्बन्ध छ, शेर्पाले भने, 'हमाम कम्पनीसँग साझेदारीमा काम गर्दा करोडौं रकम मुनाफा हुने कस्तो खेलमा थापा लागेका छन्।यस विषयमा थापाले प्रष्ट पार्नुपर्छ की पर्देन, हमामसँग साझेदारीमा काम गरेको छु भन्ने के व्यवसाय नखुलाउने यो कुन तरिका हो।'
 
थापाको पछिल्लो भनाईले उनी आफैँले खनेको खाल्डोमा आफै पर्ने उनले बताए ।
 
उपाध्यक्षद्वय  शेर्पा र विजय नारायण मानन्धर लगायतका एन्फाका केही पदाधिकारीले थापाको राजीनामा माग गरेका छन्।
 
एन्फाका सदस्यहरुले थापालाई निलम्बन गरी छानविन गर्न अख्तियार, राखेप र खेलकुद मन्त्रालयसँग माग गरेका छन् ।
 
एन्फा अध्यक्ष थापासँग रहेका शेर्पा र मानन्धरसँगै सदस्य पंकजविक्रम नेम्वाङ, प्रशीक्षक अर्जुन लामा र खेलाडी दिपक खातीले एन्फामा करोडौं घोटाला गर्ने थापा सहितका पदाधिकारीहरुलाई कारबाहीका लागि माग पनि गरेका छन्।

, ,

news and entertainment