नारायण बास्तकोटी र गणेश राई किन बनेनन् एआइजी ?

१९ जेठ, काठमाडौं । सात प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक -एआइजी) मा बढुवा गर्दा कांग्रेस र एमालेवीच भागवण्डा गरिएको गुनासो पुनरावलोकन समितिमा पुगेको छ ।
Narayan-bastakoti-and-ganesNarayan-bastakoti-and-ganesगृहमन्त्री वामदेव गौतमको इच्छामा ११ औं बरियताका डीआइजीलाई एआइजी बनाउने क्रममा दोस्रो र सातौं बरियताका प्रहरी अधिकारीहरुलाई छुटाइएको आरोप असन्तुष्टहरुले लगाएका छन् । यद्यपि एमाले केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री गौतमले कांग्रेसका कारण कनिष्टलाई सिफारिस गर्नुपरेको रिपोर्टिङ गरेको एमालेका एक नेताले बताए ।
नेपाल प्रहरीमा ०४३ साल फागुन ३ गते एकैसाथ इन्स्पेक्टरबाट जागिरमा प्रवेश गरेका १४ जना डीआइजी छन् । प्रहरीमा हाल ३२ डीआइजीको दरबन्दी छ । यीमध्ये १४ बरिष्ठबाट पहिलो बरियताका उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन् । बाँकी १३ डीआइजीमध्ये बरियताका आधारमा एआइजीमा स्वाभाविक बढुवा पाउनुपर्नेमा पहिलो नम्बरमा राजेन्द्रसिंह भण्डारी हुन् । दोस्रो बरियताका नारायणप्रसाद बस्ताकोटी हुन् । तर, कुनै दलको पछाडि नलागेका कारण दोस्रो बरियताका बस्ताकोटीलाई सिफारिस नगरी चौथो बरियतामा रहेका मन्त्रीका दाजु केदार साउदलाई बढुवामा सिफारिस गरिएको असन्तुष्टको गुनासो छ ।
बढुवा पाउने केदार साउद नेपाली कांग्रेसका नेता एवं सिँचाइमन्त्री एनपी साउदका दाजु हुन् । दलमा नलागेका सिनियर बस्ताकोटीलाई नपारेर कांग्रेस परिवारका साउदलाई ल्याउनु न्यायसंगत नभएको भन्दै पीडित डीआइजीहरुले पुनरावलोकनको माग गरेका छन् । तर, कांग्रेसले साउदलाई आइजी बनाउने रोलक्रम मिलाउन लागेको बताइन्छ ।
यद्यपि बरियताका आधारमा बढुवा गर्दा वीरेन्द्रबाबु श्रेष्ठ र प्रतापसिंह थापाबाहेक अन्य पाँचजना स्वतः बढुवामा पर्ने थिए । यसमा छुटेका बस्ताकोटी र राई दुईजना मात्रै हुन् ।
गणेश राईलाई हटाएर वामदेवका मान्छे ?
के थियो वरियता क्रम ?
१, राजेन्द्रसिंह भण्डारी
२, नारायणप्रसाद बस्ताकोटा
३, सुरेन्द्रबहादुर शाह
४, केदारप्रकाश साउद
५, रमेश शेखर बज्राचार्य
६, विज्ञानराज शर्मा
७, गणेशराज राई
८, वीरेन्द्रबाबु श्रेष्ठ
९, यादव अधिकारी
१०, परशुराम खत्री
११, प्रतापसिंह थापा
१२, विश्वराजसिंह शाही
१३, सुशील बरसिंह थापा
एआइजी बढुवामा स्वतः पर्नुपर्ने अर्का डीआइजी हुन् गणेश राई । उपत्यका ट्राफिकमा हुँदा काठमाडौंको बाटो बिस्तारमा महत्वपूर्ण भूमिका खेलेका र अवार्डसमेत पाएका राईको ठाउँमा उनीभन्दा पछाडिको बरियतामा रहेका वीरेन्द्रबहादुर श्रेष्ठलाई बढुवा गरिएको छ ।
त्यसैगरी गणेश राईको बरियतालाई बरियता मिचेर ११ औं बरियतामा रहेका प्रतापसिंह थापालाई बढुवाको सिफारिस गरिएको पुनरावेदनसम्बन्धी निवेदनमा उल्लेख छ । गणेश राई प्रहरी सेवामा प्रवेशको हिसाबले उपेन्द्रकान्त अर्यालभन्दा पनि एकवर्ष पहिले अर्थात ०४२ सालका ब्याच हुन् ।
गृहमन्त्री गौतमको जोडमा बढुवाको सिफारिसमा परेका भनिएका थापा यसअघि प्रहरीको खरिद विभागमा थिए । त्यहाँ रहँदा उनले प्रहरी अकूत सम्पत्ति कमाएको उजुरीसमेत पुनरावलोकन समितिमा परेको स्रोतले बतायो । सिफारिस समितिले नम्बर दिँदा पनि आफूखुशी गरेको बताइएको छ ।
रोलक्रमअनुसार बस्ताकोटी र राई बढुवाको सिफारिसमा परेका भए प्रतापसिंह थापा र वीरेन्द्रबाबु श्रेष्ठको योग्यताले भ्याउने थिएन । उता थापालाई सिफारिस गर्दा उनीभन्दा माथिका डीआइजी यादव अधिकारी र परशुराम खत्री पनि अन्यायमा परेका छन् । अरुको बरियता मिचिएपछि एकै ब्याचका विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा पनि अन्ययमा परेको भन्दै पुनरावलोकन समितिमा उजुरी परेको छ ।
सिफारिस रद्द हुन सक्ने
लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा गठित पुनरावलोकन समितिमा मुख्यसचिव र कानून सचिव सदस्य रहेका छन् । यो समितिले सात एआइजीको सिफारिसलाई मान्यता नदिएको अवस्थामा मन्त्रिपरिषदले निर्णय गर्न नसक्ने स्रोतले बतायो ।


,

news and entertainment