मन्त्री महतको भट्टराईलाई प्रश्न: हाँडीले कित्लीलाई कालो भन्ने?


अर्थ मन्त्रालयले रकमान्तरण गरी स्थानीय विकास मन्त्रालयलाई लगभग ५१ करोड खर्च गर्न दिएकामा संसदमा केही दिनदेखि हंगामा चलिरहेकै छ। 
 
प्रतिपक्षी दल एमाओवादीसँगै सत्तासीन एमालेका सांसदले पनि रकमान्तरण (बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा रकम सार्ने काम) को चर्को विरोध गर्दै आएका छन्। त्यो विरोधमा हिजो स्वर थपे,
पूर्वअर्थमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले। पछिल्लो समयमा ट्विटर र फेसबुकमार्फत आफ्ना भनाइ मुखरित गर्दै आएका भट्टराईले आइतबार साँझ ५ बजे ट्विटरमा लेखे– आर्थिक वर्षको अन्त्यमा करोडौं गैरबजेटरी रकम मनपरी ढंगले मन्त्रालयहरुबाट पार्टी कार्यकर्ताहरुको बलमा वितरण हुनु राज्यकोषको ब्रम्हलुट हो। 
 
त्यसको पाँच घन्टापछि राति दस बजे अर्थमन्त्री रामशरण महतले ट्विटरबाटै भट्टराईलाई जवाफ फर्काए– के तपाईं र तपाईंको पार्टीले नै यस्ता कामको सुरुवात गरेको होइन? 
 
महतले भट्टराईलाई यो प्रश्नमात्र सोधेनन्, प्रश्नपछि अंग्रेजीको उद्धरण पनि लेखे– पट कलिङ द क्याटल ब्ल्याक? अर्थात हाँडीले कित्लीलाई कालो  भन्ने?
 
पूर्वअर्थमन्त्री भट्टराईले अहिलेसम्म जवाफ फर्काएका छैनन्। 
 
काम गर्दै जाँदा ठूलाठूला परियोजनामा रकम अभाव भयो भने अर्को शीर्षकबाट रकमान्तर गरी खर्च गर्ने सामान्य प्रक्रिया हो। कुनै परियोजना छिटो गतिमा अघि बढ्ने र कुनैमा ढिलो काम हुने हुँदा कामको प्रगतिअनुसार रकमान्तरण गर्नु आवश्यक हुन्छ। 
 
प्रत्येक आर्थिक वर्षमा अर्थमन्त्रालयले अर्बौँ रुपैयाँको रकमान्तरण गरी खर्च गर्ने स्वीकृति दिन्छ। यो आर्थिक वर्षमा पनि अर्थमन्त्रालयले तामाकोशी जलविद्युत आयोजनालाई बजेटमा छुट्याएकोभन्दा थप २ अर्ब रुपैयाँ दिएको छ। त्यस्तै चमेलियालाई ५० करोड, कुलेखानीलाई २० करोड, बुढीगण्डकीलाई ३१ करोड, खानेपानी संस्थानलाई ५० करोड, काठमाडौं सडक निर्माणलाई २५ करोड र सेनाको हेलिकप्टरलाई १ अर्ब ५७ करोड रुपैयाँ दिएको छ। 
 
रकमान्तरण गर्नुपर्ने यी आवश्यक योजनासँगै सत्तासीन पार्टीहरुले आफ्ना नेताकार्यकर्ताको सिफारिसमा टुक्रे योजनाका लागि रकमान्तरण गर्ने प्रचलन बढ्दै गएको छ। 
 
यसरी टुक्रे योजनामा ठूलो मात्रामा रकमान्तरण गर्ने परम्पराका प्रणेता भने स्वयम् भट्टराई नै हुन्। अर्थमन्त्री महतले त्यही कमजोरीमा टेकेर ट्विटरमा भट्टराईलाई जवाफ फर्काएका हुन्। 
 
२०६५ सालमा प्रचण्डले नेतृत्व गरेको एमाओवादीको पहिलो सरकारमा भट्टराई अर्थमन्त्री थिए। त्यसबेला उनले अर्थमन्त्रालयबाट नै १ अर्ब ८ करोड रुपैयाँ त्यस्ता टुक्रे योजनामा खर्च गरेको र थप ७० करोड स्थानीय विकास मन्त्रालयलाई रकमान्तरण गरिदिएका थिए। 
 
उनीपछिका अर्थमन्त्री एमाले नेता सुरेन्द्र पाण्डेले पनि आर्थिक वर्षको अन्त्यमा आएर अर्थमन्त्रालयबाटै ८१ करोड त्यस्ता टुक्रे योजनाहरुमा खर्च गरेका थिए। यसरी नै एमाओवादी नेता नारायणकाजी श्रेष्ठ स्थानीय विकासमन्त्री भएका बेला ७० करोड रकमान्तरण गरेर लगे। यसैको सिको गर्दै महतले यसपालि ५१ करोड रुपैयाँ बराबरको टुक्रे परियोजनाका लागि मूलतः कांग्रेसका नेताकार्यकर्ता र सांसदको सिफारिसमा रकमान्तरण गरेका छन्। 
 
सेतोपाटीसँग कुरा गर्दै अर्थमन्त्री महतले भने, ‘मैले विभिन्न दबाबका बाबजुद अर्थ मन्त्रालयबाट टुक्रे योजनाका लागि खर्च गरेको छैन, स्थानीय विकास मन्त्रालयबाट विधिसम्मत माग भई आएका चालु योजनामा मात्र पैसा दिएको छु।’
 
मन्त्री महतले ठूला योजनामा रकमान्तरण गरी खर्च गर्नु आवश्यक र जायज भए पनि ससाना योजनामा कनिका छरेझैँ गरी वर्षको अन्त्यमा रकमान्तरण गरिने प्रक्रिया गलत भएको स्वीकारे। 
 
‘यस्तो परम्परा अघिल्ला मन्त्रीहरुका पालादेखि नै कायम रहेको भए पनि यो ठीक भने होइन,’ महतले भने, ‘सबैले सल्लाह गरेर यसमा सुधार गर्नु जरुरी छ।
भिडियो हेर्न तलको थिच्नुहोस

,

news and entertainment