सवारी नियम उल्लंघन गर्ने नियत थिएन भन्दै बचाऊ गर्दै : गौतम

Bamdev Goutam
व्यस्त सडकमा डोरी नाघेर सडक पार गरेको तस्वीर प्रकाशमा आएपछि यसले सामाजिक संजालहरुमा व्यापक आलोचनाा भएपछि उपप्रधान तथाा गृहमन्त्री बामदेव गौतमले आफूले गरेको सो कार्य सवारी नियम उल्लंघन गर्ने नियतले नगरेको प्रष्टिकरण दिनुभएको छ ।
गौतमले एक विज्ञप्ति जारी गरी यही जेठ ११ गते काठमाडौँको रत्नपार्कमा बाटो काट्ने नियमित स्थानबाट बाहेक अन्यत्रबाट बाटो काटेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूमा आफनो ध्यानाकर्षण भएको बताउनु भएको छ ।
“उक्त दिन काठमाडौँ क्षेत्र नं. २ को उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्न जाने क्रममा नेकपा (एमाले) का नेता तथा कार्यकर्तासहितको जुलुस रत्नपार्क पुगेको थियो । जुलुसका कारण यातायात अवरुद्ध भएको थियो । म पनि उम्मेदवारी दर्ता गर्ने समयमा उपस्थित हुने उद्देश्यले सोही बाटो जाँदै थिएँ । शान्ति बाटिका, गणेशमान सिंह सालिकबाट बाटो अवरुद्ध गर्दै उम्मेदवारी दर्ता गर्न जुलुस अगाडि जान लागेको थियो ।
उक्त जुलुस नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको भएको हुँदा सुरक्षाकर्मीबाट बाटो खुलाउनु भन्दा आफैँले पहल गर्दा सहज हुने देखि सो ठाउँमा छिटो पुग्न बाटो काटेको हुँ, कुनै पनि रुपमा सवारीसम्बन्धी नियम उल्लङ्घन गर्ने उद्देश्य राखेको होइन” – गृहमन्त्री गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नु भएको छ –“मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमको असुविधा पुगेको छैन, तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने सोभनीय भएन की भन्ने कुरा मैले पनि महसुस गरेको छु । तर यस्तो सामान्य कुरालाई अतिरञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा मलाई अपमानित गर्ने वा गाली गलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, यो कदापि स्वीकार्य छैन ।”
गृहमन्त्री गौतमले आफनो क्रियाकलापको बारेमा कुनै चर्चा गर्दा व्यक्तिगत स्वतन्त्रताको पनि सम्मान हुनुपर्ने उल्लेख गर्दै एउटा सामान्य कुरालाई अनावश्यकरुपमा अतिरञ्जित नगर्न देश विदेशमा रहेका नेपाली र पत्रकार वर्गलाई हार्दिक अनुरोध गर्नु भएको छ ।

,

news and entertainment