स्कोलारीलाई असफलताका लागि सम्झिने


brazil
ब्रासिला (एएफपी), असार ३० - ब्राजिलले सन् २००२ मा विश्वकप जित्दा लुइज फिलिपे स्कोलारी प्रशिक्षक थिए । तर अब इतिहासले उनलाई ब्राजिली फुटबलको असफल र अहिलेसम्मकै खराब नतिजाका लागि सम्झिनेछ । सन् २०१० को अन्त्यतिर ब्राजिली टिमको जिम्मेवारी पाउँदा ६५ वर्षीय स्कोलारीले आफ्नो गर्विलो उपलब्धिलाई दाउमा लगाउन तयार भएका थिए ।
त्यतिबेला मानो मेनेजेसलाई ब्राजिली प्रशिक्षकबाट बर्खास्त गरिएको थियो र स्कोलारी तयार भएका थिए, आफ्नै भूमिमा हुने विश्वकपमा ब्राजिलको नेतृत्व गर्न । गत वर्ष अन्तर्वार्ता दिने क्रममा स्कोलारीले भनेका थिए, 'सबै ब्राजिली खेलाडीलाई थाहा छ, यसपल्ट विश्वकप जित्नुबाहेक अरू विकल्प हुने छैन । आफ्नै भूमिमा खेल्ने र दोस्रो स्थान हात पार्नेबारे त सोच्नै सकिन्न ।'
जर्मनीविरुद्ध ७-१ को स्तब्धपूर्ण हार बेहोर्न अगाडिसम्म उनी ब्राजिली टिमलाई लिएर आत्मविश्वासी थिए । तर त्यो हारले भएभरका सबै खराब कीर्तिमान बनाएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध ३-० को हार सामना गरेपछि ब्राजिलको विश्वकप यात्रा अझ पीडादायी स्थितिमा टुंगेको छ । तर स्कोलारी मान्छन्, ब्राजिली टिमले घरेलु मैदानमा गरेको प्रदर्शनका सकारात्मक पक्ष पनि छन् ।
'सन् २००२ मा मैले भनेको थिएँ, ब्राजिल सेमिफाइनल पुगे पनि त्यो उपलब्धि हुनेछ । तर ब्राजिलमै विश्वकप हुँदा धेरै अपेक्षा थिए,' स्कोलारीले भने, 'म यसपल्टको विश्वकपमा पनि सकारात्मक पक्ष देख्छु । सन् २००२ को विश्वकपपछि हामी शीर्ष चारमा पुगेको पनि यो पहिलोपल्ट हो ।' अहिलेको ब्राजिली टिम युवा रहेको दाबी गर्दै उनले सन् २०१८ मा रुसमा विश्वकप हुँदासम्म खेलाडी परिपक्व हुने दाबी गरे ।

यसैबीच उनले आफ्नो भविष्यबारे बोल्न पनि अस्वीकार गर्दै त्यो सबै ब्राजिली फुटबल संघको हातमा रहेको बताए । संघले नै उनलाई प्रशिक्षक पदमा कायम राख्ने अथवा नराख्नेबारे निर्णय गर्नुपर्ने उनको धारणा थियो । 'संघले यसबारे निर्णय गर्नेछ,' स्कोलारीले भने, 'हामीले विश्वकप सुरु हुन अगाडि नै निर्णय गरेका थियौं, ब्राजिलले विश्वकप जिते वा नजिते पनि अन्तिम निर्णय संघले गर्नेछ ।'

, ,

news and entertainment