कार्यकर्ता दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कार्यकर्ताले आफ्नै गृहमन्त्री बामदेव गौतमविरुद्ध नाराबाजी गरेका छन्।
बाहिर आक्रोसित कार्यकर्ताले आगजनी गरिरहँदा एमाले अध्यक्ष झलनाथ खनालले भृकुटीमण्डपको हलभित्र एमालेको ९ औं महाधिवेशन उद्घाटन गरेका छन्। प्रतिनिधि बाहेकका कार्यकर्तालाई उद्घाटन सत्रमा प्रवेश नदिएपछि कार्यकर्ता आक्रोसित बनेका हुन्। महाधिवेशनका लागि ४-५ दिन अघिदेखि नै जिल्लाका कार्यकर्ता राजधानीमा छन्।
***
तोडफोड र आगजनी गर्दै एमाले कार्यकर्ता। सबै तस्विरः ऋषिकेश दाहाल
यसअघि प्रवेश गर्न नदिएको भन्दै कार्यकर्ताले मुख्य गेट अगाडि प्रदर्शन गरेको नागरिकन्युजकर्मी अर्जुन सुवेदीले जनाएका छन्। उनीहरुसँग पार्टीका कार्यकर्तासमेत खुलासत्र खुला नै हुनुपर्ने मागसहित नारावाजीमा उत्रेका छन्। नेताका गाडीसमेत भित्र छिर्न अवरोध गरिएको छ। प्रदर्शनी मार्गको नेपाल ल क्याम्पसदेखि सभागृहसम्म कार्यकर्ताको भिड छ।
यसैबीच कार्यक्रमस्थलबाट नागरिकन्युजकर्मी प्रकाश तिमल्सिनाले जनाएअनुसार महाधिवेशन मिडिया मैत्री बन्न सकेको छैन। 'सबै पत्रकार बाहिरै छन्,' तिमल्सिनाले भने, 'महाधिवेशनमा पत्रकारलाई वास्ता गरिएको छैन। प्रेस पास पनि सीमित व्यक्तिले मनोमानीरुपमा बाँढेका छन्।' उनका अनुसार उद्घाटनसत्रको समाचार संकलन गर्न पुगेकाहरु अलमलको अवस्थामा परेका छन्।
