बिर्सने छैन, इतिहासले गोएट्जलाई

रियो दि जेनेरियो (रोयटर्स), असार ३१ - जर्मनीले ब्राजिललाई ७-१ ले हराउँदा मिरोस्लाभ क्लोज विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी भए । जर्मनका ती सबै गोल मारियो गोएट्जले बेन्चमा बसेर हेरिरहेका थिए । उनलाई आरोप लाग्न सक्ने थियो, आफ्नो टिमका ती सबै गोलमा खुसियाली नमनाउने भनेर । ब्राजिलमा ओर्लदा गोएट्ज जर्मन टिमका पहिलो रोजाइका खेलाडी थिए ।Goetz
पछि उनी बेन्चमा रहे र उनको ठाउँ लिए, क्लोजले । आइतबारको फाइनलमा पनि गोएट्जको नाम सब्सिटच्युट खेलाडीको सूचीमै थियो । प्रशिक्षक जोचिम लोले त्यसै टिमलाई विश्वास गरेका थिए, जसले सेमिफाइनलमा खेलेको थियो । तर फाइनलमा लोले निर्धारित समय सकिन दुई मिनेट अगाडि गोएट्जलाई मैदानमा छिराए, उही क्लोजकै स्थानमा ।
आफ्ना प्रशिक्षक लोको त्यस निर्णयलाई सही सावित गर्दै गोएट्जले आखिरमा निर्णायक गोल गरे । त्यो पनि सुन्दर र सटीक ढंगले । भलीमा सम्भव उनको गोल खेल सकिन सात मिनेट अगाडि सम्भव भएको थियो । यसै गोलले जर्मनी चौथोपल्ट विश्वकप जित्न सफल रह्यो । जर्मनीले अन्तिम पटक सन् १९९० मा विश्वकप जितेको थियो र त्यसको दुई वर्षपछि मात्र गोएट्जको जन्म भएको थियो ।
गोएट्ज भर्खर २२ वर्षका भए । विश्वकपको केही महिना अगाडिसम्म मात्र उनको खेलजीवनमा एकपछि अर्को परिवर्तन आइरहेको थियो । उनले बोर्सिया डर्टमन्डलाई दुई बुंडेसलिगा उपाधि जिताउन मदत गरे । उनले सन् २०१३ को युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पनि डर्टमन्डकै लागि खेलेका थिए, बायर्न म्युनिकविरुद्ध । तर लगत्तै ठूलो रकममा डर्टमन्डबाट बायर्न लागे ।
'मलाई विश्वास गर्ने सबै साथी खेलाडी, टिम र परिवारलाई धन्यवाद छ,' पछि गोएट्जले भने, 'खेल चलिरहँदा नै केही साथी खेलाडीले मलाई भनेका थिए, तिमीले गर्न सक्छौं भनेर ।' उनले गाह्रो समयमा साथ दिएकामा क्लोजलाई धन्यवाद पनि दिए । प्रशिक्षक जोचिम लोलाई लागेको थियो, 'आजको फाइनलमा मारियोले केही गर्न सक्छन् भनेर । आखिरमा उनले गरे पनि ।'

,

news and entertainment