विश्वकपका ५ उत्कृष्ट गोल

रियो दि जेनेरियो (एएफपी), असार ३१ - विश्वकप फुटबल सन् २०१४ का उत्कृष्ट ५ गोल यस प्रकार छन् :
रोबिन भान पर्सी,
नेदरल्यान्ड्सविरुद्ध स्पेन, समूह 'बी’
साल्भाडोर, जून १३
-विश्वकपको सुरुआती उत्कृष्ट गोललाई नै २० औं विश्वकपको उत्कृष्ट गोलका रूपमा फुटबल पण्डितहरूले रोजेका छन् । खेलमा नेदरल्यान्ड्स १-० ले पछि थियो । डली ब्लाइन्डले निकालेको लामो एङ्गल बललाई पेनाल्टी एरियामा रहेका भान पर्सीले उडेर लोभलाग्दो गोल गरेका थिए ।goal
उनको हेडरले स्पेनी गोलकिपर इकर कासियासलाई छक्यायो र बलले जाली चुम्न पुग्यो । त्यो खेल प्रतियोगिताकै उत्कृष्ट गोलमा मात्र सीमित थिएन । पछि परेको स्थितिलाई उल्टाउँदै नेदरल्यान्ड्सले खेल ५-१ ले जित्यो । भान पर्सीको नेदरल्यान्ड्स प्रतियोगितामा तेस्रो हुँदै घर फर्कियो ।  
टिम काहिल,
अस्ट्रेलियाविरुद्ध नेदरल्यान्ड्स, समूह 'बी’
पोर्तो एलेग्रे, जून १८
-अस्ट्रेलियाले समूह चरणका कुनै पनि खेलमा जित्ने आशा गरिएको थिएन । किनकि समूह 'बी' मा नेदरल्यान्ड्स, स्पेन र चिली जस्ता बलिया प्रतिद्वन्द्वी उसका सामु थिए । त्यस्तै भयो, उसले खेलेका तीनै खेलमा हार बेहोर्‍यो । कुनै पनि अंक जोड्न सकेन । तर भेट्रान स्ट्राइकर टिम काहिलले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट गोल गर्दै रोमाञ्चक स्थिति पैदा गरेका थिए । यी ३४ वर्षीय खेलाडीले दौडँदै लामो पासलाई नियन्त्रणमा दिएर भली प्रहार गरेका थिए । उनको शट क्रसबारमा लागेर पोस्टभित्र छिर्‍यो । लगातार दुई खेलमा पहेंलो कार्ड खाएपछि उनले समूहको अन्तिम खेल भने गुमाएका थिए ।  
लियोनल मेसी,
अर्जेन्टिनाविरुद्ध इरान, समूह 'एफ’
बेर्लो होरिजोन्टे, जून २१
-इरानले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोक्ने लक्षण देखाएको थियो । तर खेल इन्ज्युरी टाइममा पुग्यो । र, खेल गोलरहित बराबरीमै टुंगिन्छ भन्ने अपेक्षा गरिएको थियो । तर मेसीले उत्कृष्ट रूपमा विजयी गोल गरे र अर्जेन्टिनालाई १-० को जित दिलाए । इरानको मिहिनेतलाई मेसीले अन्त्यमा फिक्का पारिदिए । उनले पेनाल्टी क्षेत्रको दायाँ भागको छेउबाट बल अघि बढाउँदै एक डिफेन्डरलाई छक्याए र बायाँ खुट्टाले लोभलाग्दो गोल गरे । यस पटकको विश्वकपमा चार गोल गरेका मेसीले गोल्डेन बल पाए । तर उनले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन भने सकेनन् ।  
जेम्स रोडि्रग्वेज,
कोलम्बियाविरुद्ध उरुग्वे, अन्तिम १६
रियो दि जेनेरियो, जून २८
-२२ वर्षीय रोडि्रग्वेजले यस पटक ब्राजिलमा धेरैको मन जिते । उनको प्रतिभालाई धेरैले सम्मान गरे । उनले समूह चरणका तीन खेलमा ३ गोल गरिसकेका थिए । माराकाना रंगशालामा अन्तिम १६ को खेलमा उनले दुवै गोल गरे । त्यसमा पनि पहिलो गोल उत्कृष्ट र दर्शनीय थियो । उनले बललाई छातीले नियन्त्रणमा दिंदै २५ यार्डबाट बायाँ खुट्टाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । त्यो बल क्रसबारको तल लाग्दै भित्र छिरेको हो । उनले यो विश्वकपमा गोल्डेन बुट पाए । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।
मारियो गोएट्ज,
जर्मनीविरुद्ध अर्जेन्टिना, फाइनल
रियो दि जेनेरियो, जुलाई ८
-गोएट्जलाई जर्मनीका प्रशिक्षक जोचिम लोले सब्सिटच्युटका रूपमा प्रयोग गर्न थाले । अर्जेन्टिनाविरुद्ध आइतबार फाइनलमा गोल गर्दा पनि उनी सब्सिटच्युटका रूपमा मैदान छिरेका थिए । २२ वर्षीय यी स्टारले आन्द्रेय सर्लेको क्रसलाई छातीले नियन्त्रणमा लिए र भली प्रहार गर्दै जर्मनीलाई च्याम्पियन बनाए । उनको त्यो खेलले जर्मनी २४ वर्षपछि विश्व च्याम्पियन बन्यो । त्योसँगै जर्मनीले चौथो उपाधि पनि जित्यो । जितपछि गोएट्जलाई प्रशिक्षक लोले 'चमत्कारी केटो' को उपनाम दिए ।

,

news and entertainment