रकम हिनामिनाको कारण अस्पताल बन्द हुदा बिरामी अलपत्र !!

नृपराज हमाल।हुम्ला।अस्पताल निर्माणका लागी पठाएको रकम हिनामिना भएको भन्दै चीत्त नेपाल नामक सस्ंथाले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा संचालन गर्दै आएको हिड नेपाल अस्पताल बन्द गरिएको छ । १५ सैया रहेको उक्त अस्पतालका ६ वटा कोठामा अर्को आदेश नभएसम्मका लागी प्रहरीले सिलबन्दी गरेको छ।
सिमकोट गा.वि.स.०४ बस्ने ऐसे लोडे लामाले काठमाण्डौ जिल्लामा दर्ता गरेको चीत्त नेपाल नामक संस्थाको विदेशी नागरिक माइकल ए दौवेले हुम्ला जिल्लामा अस्पताल निमार्ण गर्न बिभिन्न मितिमा पठाएको रकम हिनामिना सम्बन्धि विवादमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले २०७१ भदौ ४ गते गरेको निर्णय अनुसार उक्त अस्पतालको सम्पूर्ण काम रोक्का गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर के.सी.ले जानकारी दिनु भएको छ ।
चीत्त नेपालको नाममा रहेको सम्पुर्ण चलअचल सम्पत्ति तथा चीत्त नेपाल नामक संस्थाबाट कुनै कार्य संचालन गरिरहेको भए सो समेत रोक्का राख्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले पत्राचार गरेकाले हिड अस्पतालमा शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी के.सी.ले जानकारी बताउनु भएको छ ।
चीत्त नेपाल मेडिकलबाट शूरु गरिएको अस्पताल माइकल ए दौवेले आर्थिक अनियमितताको भन्दै दाता र संचालक बिच विवाद भए पछि २०६९ मा हिड नेपाल अस्पताल नामांकरण गरिएको थियो। हेल्थ एजुकेसन एण्ड इकोनोमिक्स डेभलपमेन्ट (हिड) नेपाल अस्पतालले बहिरंग, अन्तरंग, एक्सरे, दन्त सेवा लगाएत १५ वटा सेवा संचालन गर्दै आएको थियो । हुम्ला जिल्ला अस्पतालमा नभएको एक्सरे हिड अस्पतालले संचालन गर्दै आएकोमा उक्त सेवा बन्द हुँदा बिरामीहरुले जिल्ला बाहिर जानुपर्ने भएको छ।
अस्पताल बन्द भएपछि उपचारका लागी भर्ना भएका बिरामीहरुलाई जिल्ला अस्पतालमा सारिएको छ भने चेकजाँच गर्न गएका बिरामीहरु फर्केका थिए । २ जना डाक्टर सहित १४ जना अन्य कर्मचारी रहेको उक्त अस्पताल बन्द हुँदा सेवाग्राही र कर्मचारी मर्कामा परेका छन्। अस्पताल बन्द गराउँदा अस्पतालका संचालक ऐसे लोडे लामा भने जिल्ला बाहिर रहेका छन्।
- See more at: http://www.hamrakura.com/165022.html#sthash.dZJNwTwV.dpuf

, , ,

news and entertainment