अधिकारी दम्पत्तिको ढुकढुकी मात्रै बाँकी- अभियुक्तहरु धरौटीमा रिहा
काठमाडौंको वीर अस्पतालमा आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गरी पाउँ भनी अनशन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तिको जीवन अन्तिम क्षणमा पुगेको समाचारले संसद समेत हल्लाइसकेको छ ।
यस्तोमा हत्याका अभियुक्तहरुमाथि कानुनी कारवाही हुने र अधिकारी दम्पत्तिको जीवन रक्षाको पहल हुने अपेक्षा भए पनि चितवन जिल्ला अदालतले बिहिबार अधिकारीको हत्या आरोपमा वारेन्ट जारी गरिएका १३ मध्ये तीन जनालाई धरौटीमा रिहा गरेको छ ।
समाचार अनुसार वारेन्ट जारी गरेको ७० औं दिनमा जिल्ला अदालत चितवनमा हाजिर भएका हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी र मेघनाथ पौडेल धरौटीमा छुटेका हुन् । अदालतमा उपस्थित भएसँगै उनीहरूसँग बयान लिइएको थियो ।
बयानपछि मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले थुनछेक बहसपछि धरौटिमा छाड्ने आदेश दिएको अदालतका नासु जयनारायण आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिमलालले रु २७ हजार र कालीप्रसाद र मेघनाथ रु २०÷२० हजार बुझाएर धरौटी बुझाएर रिहा भएका हुन् । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कृष्णप्रसादका बुवाआमा २९१ दिनदेखि काठमाडाँैको वीर अस्पतालमा अनशनमा हुनुहुन्छ ।
सभामुख सुभासचन्द्र नेम्वाङले बुधबार बसेको व्यवस्थापिका संसदको बैठकमा अनशनमा बसेका अधिकारी दम्पत्तिको स्वास्थ्य स्थितिका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । बैठकमा सभासदहरुले अधिकारी दम्पत्तिको अवस्थाबारे जानकारी गराएपछि सभामुखबाट त्यस्तो निर्देशन दिइएको हो ।
पछिल्लो समय अधिकारी दम्पत्तिको अनशन प्रकरण निकै विवादित बनेको छ । सुरुमा उहाँहरुको पक्षमा लाग्ने मानवअधिकारवादीहरु अहिले चुपचाप छन् । अनशन गर्न उक्साउने र समर्थन गर्नेहरु अहिले सो अनशनलाई फिरौती लिने मेसो भन्दै कुप्रचार समेत गरिरहेका छन् ।
त्यसो त अधिकारी दम्पत्तिका जेठा छोराले आफ्ना आमा बाबुको अनशन तोडाउन मोटो रकम मागेको समाचार आएपछि मृत्युको मुखमा परेका अधिकारी दम्पत्ति विवादमा तानिएका छन् ।
छोराको हत्यारालाई कारवहीको माग गर्दै अनशन बसेर अचेत अवस्थामा पुगेका अधिकारी दम्पत्तिले पैसाको माग गरे भन्ने समाचार पत्याउन गाह्रो भए पनि यही विषयमा राजनीति गर्नेहरुबाट त्यस्तो प्रयास भएन भन्ने आधार भने छैन । किनभने नेपालमा नैतिकताको खडेरी नै परेको छ ।
