एउटै जंगलमा दुई सिंह रहन सक्दैनन्, किङ शाहरूख खान नै हुन्। म होइन, सलमान खान
काठमाडौ, श्रावण १९ - एउटै जंगलमा दुई सिंह रहन सक्दैनन् भनेझैं बलिउडमा पनि दुई किङ खान हुने कुरै भएन। यतिबेला फिल्म 'किक' ले सय करोड क्लबमा इन्ट्री मारेपछि कतिपय फ्यानहरू नायक सलमान खानलाई बलिउडकै किङ मान्न पछि परेनन्। यसले सायद सलमानलाई नै लज्जित पो बनायो कि? उनले ठाडै भने, 'बलिउडको किङ शाहरूख खान नै हुन्। म होइन।' त्यसो त बक्सअफिसमा सय करोड क्लबको चलन सलमान खानकै फिल्मको कलेक्सनबाट सुरु भएको हो भने लगालग सात फिल्मलाई उक्त क्लबमा छिराउने एक मात्र बलिउड अभिनेता पनि उनै हुन्।
'तपाईंलाई जे मन भन्न सक्नुहुन्छ। तर यहाँ पहिल्यै किङ छन्। के तपाईंलाई उनलाई किङ मान्न समस्या छ र?' सलमानले कूटनीतिक हिसाबले उल्टै फ्यानतर्फ प्रश्न तेस्र्याए, 'तर मलाई त उनलाई किङ मान्नलाई कुनै समस्या छैन।' खासमा यी दुई खानबीच कहिल्यै राम्रो सम्बन्ध रहेन। एकले अर्काको अस्तित्वलाई आत्मसात गर्न नसक्ने उनीहरू सार्वजनिक रूपमा भने बडो होसियारी साथ टिप्पणी गर्नमा माहिर छन्। यतिबेला पनि सलमानले शाहरूखका फ्यानलाई चिढ्याउन चाहेनन्। शाहरूखलाई बलिउडको किङ मान्ने सलमान स्वयंलाई चाहिँ कुन स्थानमा राख्छन् त? 'म आफैंले त आफूलाई धेरै पछाडि राख्न चाहन्छु। खासमा यतिबेला म मिसप्लेस्ड भएको छु,' यतिबेला सलमानको फिल्म 'किक' ले स्वदेशी कलेक्सनमा डेढ सय करोड भारु कटाइसकेको छ भने दुई सय करोड पुर्याउने ट्रेड एनालिसिस्टहरूको अनुमान छ। तर सलमानको कुरा भने अर्कै छ। भन्छन्, 'मलाई व्यापारको बारेमा थाहा छैन। तर पनि किन दुई सय करोड मात्रै? तीन सय, चार सय अथवा पाँच सय करोडका बारेमा कुरा गरौं न। मलाई जब फिल्मले धेरैभन्दा धेरै कलेक्सन गर्छ तब खुसी लाग्छ।' यतिबेला त सलमान निर्देशक/निर्माता करण जोहरको पारिश्रमिकका कारण पनि चर्चामा छन्। जोहरले आफ्नो नयाँ फिल्मका लागि सलमान र आमिर खान प्रत्येकलाई एक सय ५० करोड भारुको प्रस्ताव गरेका छन्। तर यसबारेमा पनि सलमानले फरक धारणा राखे। भने, 'जब फिल्मले नै दुई सय, तीन सय करोड कलेक्सन गर्न सकिरहेका छैनन् भने एउटा कलाकारलाई कसरी त्यत्रो रकम दिन सकिन्छ? फिल्मले पनि कमाएको दिनमा हाम्राे पनि त्यति पारिश्रमिक भयो भने त्यो खुसीको कुरा हो।'

