एसीसी यु-१६ प्रिमियर लिगको उपाधि नेपाललाई, मलेसिया ३२ रनले पराजित

काठमाडौं :  एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल विजयी भएको छ। किन्‌रारा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मलेसियालाई नेपालले ३२ रनले पराजित गरेको हो। नेपालले मलेसियालाई ३६ ओभरमा १२९ रनमै समेटेको छ। यो नेपालको पाँचौ जित हो। यो सँगै नेपालले एसीसी यु-१६ प्रिमियर लिग उपाधि चुम्‍न सफल भएको हो।

नेपालले ९ विकेटको क्षतिमा ४० ओभरमा १६१ रनको बनाएको थियो। नेपालका लागि रवि चन्‍दले ३४ रनको योदान गरे भने पवन सर्राफले सर्वाधिक ४४ रनको योगदान बनाए। २६ बल खेलेका पवनले २ छक्‍का र ४ चौका प्रहार गरेका थिए। यस्तै मलेसियाका एम इस्लाहले ३२ रनमा ४ विकेट लिए।

यसअघि नेपाली युवाटोलीले पहिलो खेलमा थाइल्‍यान्‍डलाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई ४९ रन र तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पाराजित गरेको थियो भने सोमबार भएको चौथो खेलमा बहराइनलाई ४७ रनमै समेटेको थियो।



एसियाली क्रिकेट काउन्सिल (एसीसी) को उमेरस्तरका प्रतियोगितामा नेपाल केही वर्षअघिसम्म निकै बलियो थियो। तर अफगानिस्तानको सशक्त उपस्थितिपछि एसीसी यू १९ मा नेपालले सन् २००७ पछि उपाधि जित्‍न सकेको छैन। यू १७ र यू १५ लाई 'मर्ज' गरी सन् २०१० मा सुरु भएको एसीसी यू १६ एलिट कपको पनि उपाधि नेपालले जित्‍न सकेको छैन। नेपालले सन् २००९ मा एसीसी यू १७ एलिट कपको उपाधि जितेयता उमेरस्तरका प्रतियोगितामा उपाधि जित्‍न (पुरुषतर्फ) सकेको छैन। नेपालले एसीसीमा जित्‍न बाँकी एकमात्र उमेरस्तरको प्रतियोगिता भनेको यू १६ नै हो। यद्यपि यो उमेरस्तरको प्रतियोगितामा नेपाल पटकपटक उपाधिनजिक पुगिसकेको छ।

नेपालले बुधबार मलेसियाको किन्‍नरारा क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्दा यस खेलको विजेताले एसीसी यू १६ प्रिमियर लिगको उपाधि जित्‍नेछ। विगतमा एसीसीले यू १६ एलिट कपमात्र सञ्‍चालन गरे पनि यसपटकदेखि यो उमेरस्तरमा प्रिमियर लिगसमेत सुरु गरेको छ। तर जेहोस्, यो प्रतियोगिता जित्न सके नेपालले एसीसीका सबै उमेरस्तरका प्रतियोगिताको उपाधि जित्ने छ। एसीसीले यू १६ स्तरमा प्रतियोगिता गर्न सुरु गरेदेखि नेपाल हरेकमा उपाधिको दाबेदार रहँदै आएको छ।

सन् २०१० मा नेपालमा आयोजना भएको पहिलो एसीसी यू १६ एलिट कपमा फाइनलमा पुगेपछि नेपाल एसीसीका सबै उमेरस्तरका प्रतियोगिताको उपाधि जित्ने सफलताको नजिक पुगेको थियो। तर फाइनलमा सिंगापुरसँग पराजित हुन पुग्यो। त्यसपछि दुई वर्षअघि मलेसियामा आयोजना भएको संस्करणमा पनि नेपाल फाइनलसम्म पुगेको थियो। तर यसपटक पनि नेपाल सफल हुन सकेन।

अहिले फेरि मलेसियामै एसीसी यू १६ प्रिमियर लिग भैरहेको छ। नेपाल र मलेसिया दुवै फाइनलमा पुगेका होइनन् तर राउन्ड रोबिनमा यी टोलीले अघिल्ला खेलमा निकालेको नतिजामा आपसको भिडन्तले उपाधि विजेताको निर्णय गर्ने भएको हो। यो खेल अनिर्णीत भएमा नेपाल प्रतियोगिताको विजेता बन्नेछ। यसै वर्षदेखि एसीसीले आफ्ना प्रतियोगितालाई च्याम्पियनसिप, प्रिमियर र एलिट भनेर विभाजन गर्नुअघि नेपालले एलिटस्तरमा यू १६ बाहेक ए सबै उमेरस्तरका प्रतियोगिताको उपाधि जितेको थियो। यो सफलता हातपार्ने नेपाल एकमात्र राष्ट्र हो।

एसीसी यू १६ स्तरमा नेपाल र मलेसियाबीच हालसम्म तीनपटक भिडन्त भएको छ। सन् २०१० मा आयोजना भएको एसीसी यू १६ एलिट कपमा नेपाल सेमिफाइनलमा मलेसियालाई ३२ रनले हराएर फाइनलमा पुगेको थियो। सन् २०१२ मा मलेसियामै आयोजना भएको एसीसी यू १६ एलिट कपमा यी दुई टोलीले दुईपटक भिडन्त गरे। नेपालले समूहगत चरणमा मलेसियालाई एक विकेटले हराएको थियो। फाइनलमा मलेसियाले नेपाललाई एक विकेटले हराएर उपाधि जित्यो।

जारी प्रतियोगितामा नेपालले खेलेका सबै खेल जितेको छ। मलेसियाले चारमध्ये एक खेल जित्यो भने एक खेलको नतिजा वर्षाका कारण अनिर्णीत भयो। नेपाल र मलेसिया दुवैको बलियो पक्ष बलिङ देखिएको छ। मलेसियाका कप्तान विरन्दिप सिंह उच्च लयमा छन्।

यी अलराउन्डले चार खेलमा दुई अर्धशतक बनाएका छन् भने सात विकेट पनि लिएका छन्। गत एसीसी यू १६ एलिटको फाइनलमा मलेसियासँग नेपाल पराजित हुँदा विरन्दिपले अर्धशतकीय पालि खेलेका थिए। विरन्दिपबाहेक अहिले मलेसियाली टोलीमा ब्याटिङतर्फ मुहमद इ वान र सौभिन्दर सिंह पनि राम्रो लयमा देखिएका छन्। बलिङतर्फ नालिन डे सिल्भा, मोहमद हासिक, कौस्यान इन्द्रान र मोहमद सारिएल पनि लयमा छन्।

नेपालका दुई बलर उच्च लयमा छन्। स्पिनरद्वय अनिल खरेल र जितेन्द्रसिंह ठकुरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। जितेन्द्रले १३ र अनिलले १२ विकेट लिएका छन्। त्यसबाहेक पवन सर्राफ र आशीष पोखरेलले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। ब्याटिङतर्फ कप्तान सुमित महर्जनसँगै प्रनित थापा, जितेन्द्र, रवीन्द्रजंग शाही, सुशान्त सिंहलगायतले चाहिएको समयमा खेलिरहेका छन्। आशा गरिएका आसिफ शेखको प्रदर्शन भने कमजोर देखिएको छ।

राउन्ड रोबिनमा नेपालले थाइल्यान्डलाई १० विकेट, सिंगापुरलाई ४९ रन, ओमनलाई एक सय दुई रन र बहराइनलाई एक सय ८६ रनले हराएको थियो। मलेसियाले भने ओमनलाई पाँच विकेट, थाइल्यान्डलाई पाँच विकेट र सिंगापुरलाई चार विकेटले हरायो। नेपालले अन्तिमपटक उमेरस्तरको प्रतियोगिताको उपाधि जित्दा २००९ मा एसीसी यू १७ एलिट कपको फाइनलमा मलेसियालाई नै हराएको थियो।

annapurnapost.com

, ,

news and entertainment