सर्पजस्तै बालक, जसले प्रत्येक ४१ दिनमा छाला फेर्छन् (फोटोफिचर)
अरी विबोवाले आफ्नो छालालाई नरम बनाउनका लागि निकै छोटो समयमा लोसन अथवा मोइस्चुराइजर लगाउँछन् किनभने यदि उनले यसो नगरे उनी मूर्तीजस्तै हलचल गर्न नसक्ने हुन्छन् ।
ती इन्डोनेसियन टिनेजर एउटा निकै दुर्लभ रोगबाट ग्रसित छन् जसलाई इन्डोनेसियाका डाक्टरहरुले पनि उपचार गर्न सकेका छैनन् जसका कारण उनी आफ्नो असाधारण रुप लिएर हिँड्न बाध्य छन् ।
उनी ‘इरिथ्रोडर्मा’ नामक छाला सुन्निने रोगबाट ग्रसित छन् जसले उनको शरिरको सबै छालालाई पत्र–पत्र बनाएर शरिरबाट आफैँ छुट्टिने बनाइदिन्छ ।
१६ वर्षअघि जन्मिएका अरीले प्रत्येक ४१ दिनमा छाला फेर्ने गर्दछन् । उनले आफ्नो शरिरलाई दिउँसो होस् वा राती, प्रत्येक एक घण्टामा पानीमा भिजाउनुपर्ने र प्रत्येक तीन घण्टाको फरकमा शरिरभरी लोसन लगाउनुपर्ने हुन्छ ता कि उनको छाला कडा हुनबाट बचोस् ।
फोटोग्राफर नर्चोलिस अन्हारी लुबिस, ३५, ले ती बालकको अवस्थालाई कैद गरेर राखेका छन् र उनको छालाको अवस्थालाई ‘सर्पले छाला फेर्न लागेको अवस्था’ भनेर नामांकरण गरेका छन् ।
‘यो निकै दुखदायी हो किनभने उनी साधारण रुपमा जन्मिएका थिएनन् र उनको शरिरलाई पत्र परेका कडा छालाहरुले छोपेका छन् । उनको टाउकोदेखि खुट्टासम्म हेर्दा उनको शरिर गम्भीर रुपले पोलेको जस्तो देखिन्छ, ’ लुबिसले डेल्ली मेल अष्ट्रेलियालाई जानकारी दिए ।
‘यदि ती बालकले आफ्नो छालालाई मोइस्चुराइज नगरे अथवा पानीमा नडुबाए, उनको शरिर कुनै मूर्तिजस्तो कडा हुन थाल्छ फलस्वरुप उनी हलचल गर्न सक्दैनन्, ’ लुबिसले बताए ।
उनको यो अवस्थालाई केहि गर्न नसक्ने जानकारी डाक्टरहरुले अरीको परिवारलाई दिइसकेका छन् ।
लुबिसका अनुसार अरी र उनको परिवारले उनको छालालाई धोएर र लोसनले नुहाएर कडा हुनबाट बचाइरहेका छन् । ती बालक आफ्नो समाजमा साधारण जीवन व्यतित गर्न कसरत गरिरहेका छन् ।
जर्कातामा बस्ने लुबिसले चार दिन अरी र उनको परिवारसँग बसेर उनको दैनिक क्रियाकलापको बारेमा अध्ययन र क्यामरामा कैद गरेका छन् । हेरौँ उनका तस्बिरहरुः
