नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार गाउँमा पोष्टबहादुर बोगटी दिवाकरको जन्म २०१० सालमा भयो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट पोष्टबहादुर बोगटी निम्न मध्यम परिवारमा जन्मिनु भएको हो ।
बुवा भैरवबहादुर बोगटीको सरल, मिलनसार र समाजसेवी कार्यबाट प्रभावित भई पोष्टबहादुर बोगटीे पनि सानैदेखि सामाजिक कार्यमा अभ्यस्त हुनु भयो । समाजसेवी हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पोष्टबहादुर बोगटी सरल, मिलनसार स्वभावको हुनुहन्छ । उहाँको विवाह २०३५ सालमा नुवाकोट जिल्लाको आगापुटार निवासी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट सहिद भएका थिए ।
राजनीतिक यात्रा र जिम्मेवारी
समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गर्नु भयो । भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको बोगटी बताउनु हुन्छ । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टप्रतिको आस्था बढेको उहाँको
सम्झना छ । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध हुनुभयो । पुष्पलाल समूहले २०३५÷२०३६ सालको आन्दोलनमा धोका दिएपछि पुष्पलाल समूह छाडेर संयुक्त चौममा जोडिनु भयो । संयुक्त चौंथो महाधिवेशनसम्ममा उहाँ जिल्ला समिति सदस्य भइसक्नु भएको थियो । २०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गर्नुभयो । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा मशालको जिल्ला सेक्रेटरी हुनुभयो । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हानु भयो । शान्ति प्रक्रियामा आउँदा समेत उहाँले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हाल्नु भयो भने एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका निर्वाह गर्नुभयो । २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्टिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन हुनुभयो । २०६२÷२०६३ सालको आन्दोलनको सफलतासँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न. ३ बाट विजयी हुनुभयो । संविधानसभा सदस्य हुँदै उहाँ एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक हुनु भयो । उहाले भलनाथ खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय सम्हाल्नु भयो । त्यसलगत्तै बनेको डा.बाबुराम भट्राई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भयो ।
जेल जीवन
पोष्टबहादुर बोगटीको राजनीतिक जीवनमा जेल जीवन पनि छ । नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४०मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना जेल जीवन बिताउनु भयो । दशैको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो । यस्तै २०४२ सालमा भएको बमबाण्डमा पनि उहाँ घरबाट पक्राउ पर्नु भयो । त्यसबेला उहाँ पार्टीको जिल्ला समिति सेक्रेटरी हुनुहुन्थ्यो ।उक्त बम काण्डमा उहँंको गाउँबाट ११ जना र नुवाकोट जिल्लाबाट गणेश पण्डित सहित २७ जना पक्राउ गर्नु भएको थियो । सो बम काण्डमा पक्राउ पर्नुभएका दिलीप चौधरीलाई तत्कालिन राज्यले बेपत्ता बनाई हत्या गरेको थियो ।
यस्ता थिए बोगटी
news and entertainment
