पूर्वयुवराज पारस नेपाल फर्कने तयारीमा
पूर्वयुवराज पारस शाह सधैंका लागि नेपाल फर्कने तयारी भैरहेको बताइन थालेको छ। आफ्ना दुःखसुखका पुराना साथीहरूको आग्रहमा पूर्वयुवराज पारस नेपाल फर्कन लागेका हुन्। ४ वर्षअघि कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीसँग चितवनमा विवाद भएपछि पारसले नेपाल छाडेका थिए। 'नेपाल अब राष्ट्रवादी नेपालीहरूको हातमा रहेन, यो दुःखलाग्दो अवस्था मेरो मनले सहन सकेन।' नेपालबाट सिंगापुर उड्नुअघि निकट मित्रहरूलाई उनले भनेका थिए, 'मलाई देशमा बस्नै मन लागेन।' पूर्वराजा बुबा ज्ञानेन्द्र एवं पत्नी हिमानीले समेत देशमा भन्दा विदेशमै बसेको राम्रो भन्ने संकेत दिएपछि पारसले नेपाल छाडेको बताइँदै आएको छ।
यता पारसका निकट मित्रहरूले नेपाल नफर्कने उनको घोषणा तत्कालीन आवेगमा गरिएको निर्णय मानेका थिए। खराब आर्थिक अवस्था, पटक-पटक हत्याको प्रयास, बैंकक प्रहरीको फन्दा एवं गम्भीर बिरामी भएर उठिसकेपछि पनि पारसले नेपाल फर्कने छाँट नदेखाएकाले निकट मित्रहरूले उनलाई नेपाल फर्काउने वातावरण बनाउन थालेका थिए।
सूत्रहरूका अनुसार मित्रहरूको आग्रहअनुसार पारस दसैंको टीकाका दिन नेपाल फर्कने तयारीमा छन्। बुवा ज्ञानेन्द्र शाहसँग टीका लगाएर उनी पुराना मनोमालिन्य बिर्सन चाहन्छन्। यसका लागि उनले पटक-पटक पूर्वराजा ज्ञानेन्द्रसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन्। यद्यपि त्यसका लागि पूर्वराजा ज्ञानेन्द्रले हरियो झन्डा देखाइ नसकेको बताइन्छ। निकट सल्लाहकार मात्र होइन, वैद्य माओवादीका केही नेताले समेत पारस नेपाल फर्कनु राम्रो होइन भन्ने संकेत दिएका कारण ज्ञानेन्द्र आफ्नो एक्लो छोरा पारस नेपाल फर्किएको देख्न चाहँदैनन्। ज्ञानेन्द्रलाई अहिले पनि नाति हृदयेन्द्रमार्फत राजसंस्थाको कुनै न कुनै स्थान बन्छ भन्ने आशा छ। यद्यपि टीका लगाउन कै लागि पारस फर्कने भए टीकादेखि पूणिर्माको दिनसम्ममा पारस नेपाल फर्किए आपत्ति नहुने संकेत शाही परिवारले गरेको बताइन्छ। यस आधारमा सम्भवतः असोज २१ गते पारस नेपाल फर्कन सक्छन्।
युवाहरूको तयारी
पुराना मित्रहरू पारस नेपाल फर्किएपछि गुमनाम होलान् कि भन्ने कुराले चिन्तित छन्। त्यसैले उनीहरू हिमानी ट्रष्ट जस्तै कुनै संस्थामार्फत पारसलाई समाजसेवामा सक्रिय बनाउने योजनामा छन्। 'पारस सरकारका बारेमा जुन नकारात्मक छवि बनाउने प्रयास भएको छ, त्यो देशको हितमा छैन। जे भए पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको खलक भएका कारण पनि हामीले उहाँको सम्मान गर्नुपर्छ।' पारसका सहयोगी एवं राप्रपा नेपालका युवा नेता दमन बस्नेत भन्छन्, 'उहाँका सकारात्मक कुरा देशको हितमा प्रयोग गर्नुपर्छ भनेर हामीले नेपालमा वातावरण बनाउन चाहेका हौं।' राप्रपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत अध्यक्ष रहेको हिमालयन-अन्तर सांस्कृतिक संघ नेपालमार्फत पारस शाहलाई समाजसेवामा उतार्ने योजना भएको बताइएको छ।
नाजुक अवस्था
आर्थिक अवस्था नाजुक भएका कारण पनि पारस अहिले नेपाल फर्कनुपर्ने अवस्थामा पुगेको एकथरीको दाबी छ। पारसका बुवा ज्ञानेन्द्र शाह एवं श्रीमती हिमानीले थाइल्याण्डमा बाँच्न पुग्ने आवश्यक रकम नपठाएका कारण पनि उनी नेपाल फर्कन छट्पटाएको बताइन्छ। बैंककबाट प्राप्त जानकारीअनुसार पारसको मासिक खर्च नेपाली २ लाख रुपैयाँजति छ। केही नेपाली मित्रका साथै नर्ससमेत रहेकी थाइल्यान्डकी साथीले दिएको खर्चले अहिले उनको भरथेग गरिरहेको छ। आफ्नो परिवारको अधीनमा रहेको सोल्टी होटल, सूर्य नेपाल जस्ता नाफामा रहेका कम्पनीका अंशियार पारस नेपालबाट खर्चसमेत नपाएपछि फर्कने निष्कर्षमा पुगेको बताइँदै आएको छ। थाइल्यान्डमा उनलाई साथ दिइरहेका केही नेपालीका अनुसार स्वास्थ्यका कारण उनको खर्च अझ बढ्न थालेका छन्। विभिन्न विवादमा तानिँदै आएका पारस थाइल्यान्डको कानुनका कारण पनि तनावमा छन्। थ्ााइल्यान्डमा उनी अनेकौं पटक स्थानीय प्रहरीको फन्दामा परिसकेका छन् भने अर्कातर्फ उनलाई सुरक्षा थ्रेट पनि छ।
के भन्छन् पारस ?
थाइल्यान्डमा रहेका निकटवर्ती सूत्रहरूका अनुसार पारसमा कुनै पनि पदको महत्वांकाक्षा छैन। यद्यपि उनी आफू देशका लागि केही काम लाग्न सक्छु कि भन्ने चिन्तनचाहिँ गरिरहन्छन्। त्यसैले पनि उनी थाइल्यान्डमा नेपाली महिला क्रिकेटरहरू सहभागी भएको एक प्रतियोगितामा दर्शकका रूपमा उपस्थित थिए। 'नेपाल मेरो पनि देश हो, एउटा नागरिकका हैसियतले भए पनि देश बनाउन मेरो केही भूमिका हुन्छ भने म तयार छु।' पूर्वयुवराज पारसविक्रम शाहलाई उद्धृत गर्दै थाइल्यान्डबाट साप्ताहिकलाई प्राप्त सूचनामा उल्लेख छ, 'यहाँ सबैबाट एक्लिएर बस्नुभन्दा देश मै बस्नु निको भन्ने पनि लाग्न थालेको छ।'
