बोगटीको निधनपछि प्रचण्ड भावुक




 एमाओवादीका अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनबाट पार्टी र सर्वहारावर्गले एक होनाहार योद्धा गुमाएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाडाँमा राखिएको उपाध्यक्ष बोगटीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रदाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनको मृत्युले सर्वहारावर्गको आन्दोलनमा अपुरणीय क्षति भएको बताए ।
‘आज हामीले दश वर्षे जनयुद्धका एक महान सिपाहीलाई गुमाएका छौं’ प्रचण्डले भावुक हुँदै भने,‘सर्वहारावर्गको योद्धालाई असमयमै गुमाउनु पर्दा पार्टी र क्रान्तिका लागि अपुरणीय क्षति भएको छ ।’
यसैबीच,एमाओवादीले तीन दिन शोक मनाउने निर्णय गरेको छ । सोमबार बिहान आयोजित श्रदाञ्जली कार्यक्रममा पार्टीको झन्डा आधा झुकाउने र देशभरका पार्टी कार्यालयमा फोटो राखेर श्रदाञ्जली कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको जानकारी अध्यक्ष प्रचण्डले दिए । एमाओवादीले असोज ५ गते देशभर श्रदाञ्जली सभा गर्ने कार्यक्रम समेत घोषणा गरेको छ ।
६२ वर्षीय नेता बोगटीको बिहान ७:२५ बजे निधन भएको थियो । गत बिहिबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएका बोगटीलाई मस्तिष्कघातसमेत भएपछि नर्भिक अस्पतालमा राखेर उपचार प्रयास भएको थियो ।
नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं २ को भित्रिनिटार मा २०१० सालमा बोगटीको जन्म निम्न मध्यम परिवारमा भएको थियो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिएका बोगटी एमाओवादीभित्र त्यागी,भद्र र शलीन नेताका रुपमा परिचित थिए । पटकपटक मन्त्री बनेका बोगटी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी भएका थिए ।


,

news and entertainment