बयान फेरे कसले गर्छ सिके रावतको हत्या ?

सुनिलः नेपालबाट मधेस छुट्याउने सोच र अभियानसहितको जुन बयान तपाईंले प्रहरीमा दिनु भयो, त्यही

बयान अदालतमा दिए जन्मकैद हुनबाट कसैले बचाउन सक्दैन । बयान फेर्नु पर्छ ।
सीकेः अहँ हुँदैन । मधेसलाई नेपालबाट छुट्याउने अभियान छाडे भने उनीहरुले मलाई छाड्दैनन् मारिदिन्छन् ।
सुनिलः उनीहरु भनेको को हो ? किन मारिदिन्छन् तपाईंलाई ?
सीकेः तपाई बुझनु हुँदैन यो कुरा, म मर्न सक्छु तर यो अभियान छोड्न सक्दिन र मिल्दैन पनि ।
सुनिलः म तपाईंको वकिल हुँ तपाईंले मलाई सवै कुरा खुलस्त भन्नु पर्छ ।
सीकेः म अहिले केही भन्दिनँ, यसमा कर नगरौँ । यो मधेस छुट्याउने मुद्दा छोडेमा मलाई मारिदिन्छन् ।
सुनिलः उसो भए म तपाईंको तर्फबाट मुद्दा लड्न सक्दिँन । तपाईंलाई जन्मकैदको फैसला हुनबाट कसैले रोक्न सक्दैन् । निर्दोषलाई पो न्यायालयले न्याय दिन्छ । तर तपाईंको पक्षमा न्यायाधीशले कुन आधारमा फैसला देलान् । तपाईंको सोच के हो ?
सीकेः मेरो सोच नेपालबाट मधेस छुट्याउने नै हो तर अहिले होइन १० बर्षपछि ।

उक्त संवाद राज्यविप्लवको मुद्दा लागेर थुनामा रहेका सीके रावत र कानुन व्यवसायी सुनिलरञ्जन सिंहबिचको हो । २१ असोज बुधबारका दिन मुद्दाको विषयमा छलफल गर्न कानुन व्यवसायी सिंह राउतसँग गए  । शुक्रबार उनलाई बयानका लागि विशेष अदालतमा उपस्थित गराइँदै थियो । त्यही सन्दर्भमा कुरा गर्न सिंह पुगेपछि राउतले नेपालबाट मधेस टुक्राउने अभियान छोडे कुनै समूहले आफ्नो हत्या गर्ने खुलासा गरेका हुन् । नेपालबाट मधेस छुट्याउने अभियान छोडे या अदालतमा बयान फेरे कसले र किन उनको हत्या गर्छ त्यो भने उनले खुलाउन नचाहेको सिंहले बताए ।
सीके र कानुन व्यवसायी सिंहबिच दुई घण्टा छलफल भएपछि उनी बयान फेर्ने मनस्थितिमा पुगेका थिए । सुरुमा अहिले नभएर १० बर्षपछि देश टुक्राउने लक्ष्य रहेको बताएपनि पछि अदालतमा भने आफू अखण्ड राष्ट्रकै पक्षमा भएको बयान दिए । बयानको पहिलो दिन सोधिएका २४ प्रश्नमा उनले स्वतन्त्र र स्वायत्त मधेसका पक्षमा आफू लागेको तर देश टुक्र्याउने अभियान नलागेको बताएका थिए ।
पहिलो दिन २४ असोज शुक्रबार उनको बयान नसकिएपछि आइतवार फेरि बयान लिइएको थियो । बयान दिन आउँदा शुक्रबार गरेको आफ्नो बयान पुनः फेर्न उनले खोजेका थिए । अदालतका कर्मचारी अगाडि नै उनले १० बर्षपछि देश टुक्राउने लक्ष्य रहेको बताएका थिए । ‘पछि फेरि किन हो शुक्रबार जस्तै देश टुक्राउने लक्ष्य नभएको बयान उनले दिए,’ अदालतका एक कर्मचारीले भने ।

,

news and entertainment