'बेडमै बन्‍छ भ्रूणहत्याको योजना '

 'जब मैले औपचारिक शिक्षा पूरा गरें, त्यसपछि बल्ल साँच्चिकै शिक्षा सुरु भयो', योजनाविद्, सरकारी उच्च अधिकारी र प्रधानमन्त्रीको सम्बोधनका लागि खुला हुने राष्ट्रिय योजना आयोगको सभाकक्षामा भारतका चर्चित अभिनेता आमिर खानले भने। यो भनाइमा हर्क गुरुङ सभाकक्षमा उनलाई सुन्न आतुर अधिकांश सरकारी कर्मचारी र केही पत्रकार घोत्लिए।


आमिरको यो भनाइ भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शैक्षिक प्रणालीले शैक्षिक जनशक्ति होइन, 'सर्टिफिकेटको खोस्टो' बेचिरहेको छ भन्ने वास्तविकता उनको छोटो मन्तव्यमा समेटिएको थियो। आमिरको यो भोगाइ दक्षिण एसियाली सबैको जीवनमा प्रत्यक्ष-अप्रत्यक्ष अनुभव हुन्छ।

दुई हिन्दी फिल्म 'थ्रि इडियट्स' र 'तारे जमिन पर' बाट दक्षिण एसियाको शैक्षिक प्रणालीका कमजोरीमाथि तिखो प्रहार गरेका आमिरले नेपालको शैक्षिक प्रणालीमा देखिएको कमजोरीको वास्तविकता एक वाक्यमा व्यक्त गरे। आमिरले औपचारिक शिक्षा सकिएपछि बल्ल आफ्नो शिक्षा सुरु भएको भनाइ राख्दा आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सबैभन्दा पहिला कर्तल ध्वनिले स्वागत गरेका थिए।

युनिसेफको 'सुनौला हजार दिन' कार्यक्रमअन्तर्गत पोषण प्रवद्र्धन अभियानका लागि दक्षिण एसियाली सद्भावनादूत बनेपछिको पहिलो भाषणमा उनले विश्वका प्रख्यात विश्वविद्यालयका विज्ञले वर्षौं लगाएर गरेका अनुसन्धानभन्दा गहकिला धारणा राखेका थिए। उनले शिक्षा र स्वास्थ्यमा दक्षिण एसिया पनि विकसित मुलुकको स्तरमा पुग्न सक्ने बताए।

उनले दक्षिण एसियामा आमाको गर्भमा रहेको भ्रूणको पहिचान गरी छोरी भए तुहाउने प्रवृत्ति सरकारले लाठी लगाएर नभई जनतामा चेतना भरेर मात्रै अन्त्य गर्न सकिने पनि बताए। 'गर्भमा छोरी रहेको थाहा पाएपछि पतिपत्नीबीच भ्रूणहत्या गर्ने योजना बेडमै बन्छ। प्रहरी बेडसम्म पुग्न सक्दैन। त्यस्तो अपराध रोक्न चेतना चाहिन्छ। म त्यसमै लागिपरेको छु।'

केही महिनाअघि प्रसारण भएको लोकप्रिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' मा उनले भारतमा लाखौं महिलाको आमाको कोखमा हत्या हुने खोजमूलक सामग्री प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम प्रसारणपछि भारत सरकारले नीति परिवर्तन गरेको थियो।

दक्षिण एसियामा मात्रै लाखौं बालबालिका कुपोषणको सिकार भएको तथ्यांक प्रस्तुत गर्दै उनले बालबालिकाका सुरुका हजार दिनमा के खुवाउने भन्ने चेतना मात्रै फैलाउन सके पनि लाखौं सुरक्षित हुने बताए। 'जन्मेको ६ महिनासम्म आमाको दूधबाहेक बच्चालाई केही पनि खुवाउनु हुँदैन', उनले भने, 'त्यसपछि पनि हामीसँग भएकै खानेकुरा खुवाउने तरिका जाने पनि लाखौं बालबालिका मर्नबाट जोगिन्छन्।'

योजना आयोगका पदाधिकारी र सरकारी उच्च अधिकारीसँगको छलफलअघि प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भएको भेटमा पनि आमिरले कुपोषण अन्त्यबारे धारणा राखेका थिए। 'नेपाल र भारतमा मात्रै ४० प्रतिशतभन्दा बढी बालबालिकामा पोषणको अभाव देखिएको छ', आमिरले भने।

युनिसेफको निमन्त्रणामा तीनदिने भ्रमणमा मंगलबार आएका आमिरले बिहीबार नै दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित अन्तरक्रियामा कुपोषण हुने चार गल्ती औंल्याए। गर्भवती भएको समयमा प्रशस्त पोषणयुक्त खानेकुरा नखानुलाई पहिलो गल्ती मानेका उनले बच्चा जन्मेको दुई दिनसम्म आमाको दूध शुद्ध हुँदैन भन्ने भ्रमलाई दोस्रो गल्ती भने।

बच्चा जन्मेको ६ महिनाभित्र अन्य खानेकुरा खुवाउनुलाई तेस्रो गल्ती भनेका उनले ६ महिनापछि आमाको दूधसँगै स्वच्छ, सफा र पोषणयुक्त अन्य खानेकुरा भरपूर मात्रामा खान नदिनुलाई चौथो गल्ती आंैल्याए। 'यी चार गल्ती नगर्ने हो भने बालबालिकामा कुपोषणको सम्भावना रहँदैन', उनले भने।

'सुनौला हजार दिन' अभियान उद्घाटनमा आमिरलाई नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले साथ दिएका थिए।
annapurnapost.com

, ,

news and entertainment