आठ वर्षमा फिल्म निर्देशक बनेर गिनिज बुकमा नाम



  विराटनगरमा जन्मिएका एक बालक ८ वर्षमा नेपाली कथानक चलचित्रको निर्देशक बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् ।
हाल काठमाडौँस्थित डिल्लीबजारमा रहेको सूर्योदय ज्योति सेकेन्डरी स्कुलमा कक्षा २ मा अध्ययनरत सौगात बिष्ट ८ वर्षमै फिल्म निर्देशक बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका हुन् ।
उनले नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेका छन् । यसअघि भारतका एक ९ वर्षीय बालकले फिल्म निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
चलचित्र ‘लभ यू बाबा’ का बारेमा जानकारी दिन बुधबार बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा हाल चलचित्रको सम्पादन र पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी चलचित्र निर्देशक विष्टले जानकारी दिए । रु ४७ लाखको लागतमा तयार पारिएको चलचित्र वियोगान्त रहेको बताइएको छ ।
पारिवारिक कथावस्तुमा तयार पारिएको चलचित्र आमाको काखविहीन छोरीलाई आमाको अभाव हुन नदिन बुबाले खेलेको भूमिका र सङ्घर्षको कथा समेटिएको छ । आगामी मङ्सिर २६ गतेबाट उपत्यका र उपत्यकाबाहिरका ५० भन्दा बढी हलमा एकसाथ चलचित्र प्रदर्शन गरेर विष्टको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्ने तयारी भइरहेको जानकारी पत्रकारसम्मेलनमा चलचित्रका नायक गजित बिष्टले दिए ।

news and entertainment