नेपालले श्रीलंकामा तीनदिवसीय खेल्ने

 एसियाली क्रिकेट परिषद (एसिसी) का डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराको अनुरोधमा श्रीलंकाली क्रिकेटको कार्यकारी कमिटीले उत्कृष्ट चार एसियन एसोसिएट राष्ट्रको श्रीलंका भ्रमण स्वीकृत गरेको छ।
टेस्ट मान्यता नपाएका एसियाली राष्ट्र नेपाल, अफगानिस्तान, हङकङ र युएईले श्रीलंका भ्रमण गर्ने एसिसीले बुधबार आफ्नो वेबपेजमा उल्लेख गरेको छ।
नोभेम्बरमा नेपाल र हङकङले श्रीलंका भ्रमण गर्नेछन्। बार्नापुराले एसिसीको वेबसाइटसँग भनेका छन्, ‘यो श्रीलंकाको तर्फबाट प्राप्त गरेको लाभदायिक प्रस्ताव हो। हाम्रो टोलीले उच्चस्तरको क्रिकेटमात्र खेल्ने छैनन्। उनीहरूले क्रिकेट सुविधा र क्रिकेट संस्कारबारे समेत धेरै कुरा सिक्ने छन। जसले उनीहरूको क्षमता विकास गर्दै विश्व स्तरका प्रतियोगितामा खेल्न सहयोग गर्नेछ।’
नेपालले भ्रमणमा श्रीलंकाली टोलीसँग चार तीनदिवसीय खेल खेल्नेछ। त्यस्तै नेपाल र हङकङबीच एक ५० ओभरको खेलसहित तीन ट्वान्टी–२० क्रिकेट खेल हुने बताइएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले अवसरबाट आभारी भएको बताएका छन्। उनले भने, ‘हामीले पहिलोपल्ट टवान्टी–२० सिरिजसहित तीनदिवसीय खेल खेल्ने अवसर पाएका छौं। यो अवसरबाट हामी खुसी छौं।’
यसै गरी नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ को तयारीका लागि आइतबार श्रीलंका जाने नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताएका छन्।आजको नागरिक दैनिकमा खबर छ ।


,

news and entertainment