आज महाअष्ठमी पर्व शक्तिपीठहरुमा बली दिइदै


 बडादसैंको आठौँ दिन आज देशभर दुर्गाभवानीको पूजा–आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ ।

कलपूर्जा, हातहतियार र सवारी साधन सफासुग्घर गरी बलिसहित पूजा गरिने प्रचलन छ । पशुबली नचढाउनेहरुले जमराकोठामा घिराँैला, कुभिन्डो, मूला आदि बलि दिइ दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दसैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिइ कालरात्री मनाइँन्छ ।

काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, वीजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा–आराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र बनेपास्थित चण्डेश्वरी मन्दिरमा पनि बिहानैदेखि पूजा गर्नेको भीड लागेको छ ।

यस्तै, गोरखाको मनकामना, नुवाकोटको भैरवी, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिस्वरुपा भगवतीको पूजा–अर्चना गर्न भक्तजनको ठूलो भीड लागेको छ ।
imagekhabar.com

,

news and entertainment