बाराको सिम्रौनगढमा कफ्र्यु
प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि तनावग्रस्त बनेको बाराको सिम्रौनगढ क्षेत्रमा प्रशासनले आइतबार कफ्र्यु लगाएको छ।
जायज माग राखेर गरिएको आन्दोलनमा गोली चलाएर प्रहरीले एक जनाको ज्यान लिएको भन्दै स्थानीयले प्रदर्शन गर्ने देखेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाउने भएको हो। स्थिती तनावपूर्ण बन्न नदिनका लागि दिउँसो १२ बजेदेखी साँझ सात बजेसम्म कफ्र्यु आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले जानकारी दिए। वार्ताका लागि आफुले पहल गरेपनि आक्रोशित स्थानीयले पुन: प्रदर्शन गर्ने देखेपछि कफ्र्यु लगाइएको प्रजिअ अर्यालले बताए।
'नहुनुपर्ने दुख:द घटना भइसकेको छ, फेरि त्यस्तो स्थिती आउन दिनुहुन्न' अर्यालले भने 'स्थिती तनावग्रस्त हुनबाट रोक्नका लागि कफ्र्युको बिकल्प छैन्'।
प्रजिअले आन्दोलन छाडेर वार्तामा आउनका लागि स्थानीयसँग आग्रह गरेका छन्। पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि आफू तयार रहेको अर्यालले बताए। कलैया-सिम्रौनगढ नहर सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र विद्यार्थीको भीडमा प्रहरीले शनिबार गोली चलाउँदा हहिरपुर ७ का ४० वर्षीय जयनारायण यादवको मृत्यु भएको थियो। प्रहरीको गोली लागि घाइते भएका दुई जनाको उपचार भइरहेको छ।
घाइते हरिहरपुर ५ का २८ वर्षीय साह महमदको राजधानीस्थित वीर अस्पतालमा उपचार भइरहेको छ। अहमदको शल्यक्रिया विधिबाट ढाडमा लागेको गोली निकालिएको छ। अर्का घाइते अमृतगञ्ज २ का ३३ वर्षीय नागेश्वर कुशवाहालाई उपचारका लागि भारततर्फ लगिएको स्थानीय रामबाबु मेहताले जानकारी दिएका छन्।
घटनाको विरोधमा स्थानीयले बिहानैदेखि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यलयमा धर्ना दिइरहेका छन्। पीडितलाई क्षतिपूर्ति र गोली चलाउने प्रहरीमाथि कारबाहीको माग गर्दै पटेलको शव राखेर स्थानीयले धर्ना दिइरहेका हुन्।
स्थानीयको आन्दोलनमा प्रहरी ज्यादती बढेको भन्दै सिम्रौनगढ क्षेत्रमा विभिन्न राजनीतिक दलका नेताहरू पुग्न थालेका छन्। एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रभु साह, पूर्वराज्य मन्त्री सरोज यादवले सिम्रौनगढ क्षेत्रमा पुगेर पीडित परिवार र स्थानीयसँग भेट गरेका छन्।