बारा घटनाबारे गृहले यसो भन्यो


बाराको हरिहरपुरमा स्थानीयवासीले आज सशस्त्र प्रहरीको गाडीमा ढुङ्गामुढा गरी तोडफोड गरेपछि भएको झडपमा सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गर्दा हरिहरपुर–४ बस्ने ३५ वर्षीय जयनारायण पटेलको गोली लागी घटनास्थलमै मृत्यु भएको छ ।

गोली लागी घाइते भएका २३ वर्षीय साह मोहम्मदको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आज जारी गरिएको विज्ञप्तिमा स्थानीयवासी जम्मा भई नाराबाजी गर्दै बसेकामा थप सुरक्षाका लागि आएको सीमा सुरक्षा कार्यालय बरियापुरको सशस्त्र प्रहरीको टोलीलाई रोकी ढुङ्गामुढा गरिनाका साथै दुई सवारी साधनमा आगजनी गरेपछि प्रहरीबाट ३२ सेल अश्रुग्यास, दुई ग्यास ग्रिनेट र १५ राउन्ड फायरको क्रममा पटेलको मृत्यु भएको उल्लेख छ ।
सशस्त्र प्रहरीतर्फ प्रहरी जवान सीताराम विष्टको आँखामा चोट लागी गम्भीर घाइते भएको, सशस्त्र प्रहरी नायब उपरीक्षक अर्जुन सापकोटा, सशस्त्र प्रहरी निरीक्षक ललितबहादुर कार्की तथा जवान नगेन्द्र थापा र मुर्तुजा श्रेष्ठ घाइते भई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको जनाइएको छ ।
यही असोज २४ गते गोलागन्ज–९ स्थित नहरचोकमा बाटो मर्मतका लागि दुई ट्रक निर्माण सामग्री लिई गएकामा स्थानीयवासीबाट अवरोध गर्दै १०/१५ टिपर सञ्चालनमा ल्याउनुपर्ने माग राखी निर्माणमा अवरोध गरिएपछि पाँच जनालाई नियन्त्रणमा लिइएको र पछि सोही विषयमा एक हजार जति गाउँले आएर इलाका प्रशासन कार्यालय सिम्रौनगढमा तोडफोड गरेको बताइएको छ ।
तीनदेखि ७ बजेसम्म कफ्र्यु
राजनीतिक दलका स्थानीय प्रतिनिधिको रोहबरमा पक्राउ परेका व्यक्तिलाई असोज २४ गते साँझ नै रिहा गरिए पनि आज बिहान फेरि स्थानीयवासीले ढुङ्गामुढा गर्दा झडपका क्रममा पटेलको मृत्यु भएको जनाइएको छ । सो क्षेत्रमा आज अपराह्न ३ बजेदेखि साँझ ७ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
यसैबीच मधेसी जनअधिकार फोरम नेपालले सिम्रौनगढमा प्रहरीको गोली प्रहारबाट पटेलको मृत्यु भएको घटनाको विरोध गरेको छ ।
फोरमका महासचिव रामसहाय यादवले आज जारी गरिएको विज्ञप्तिमा घटनाको न्यायिक छानबिनको माग गर्दै मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचार गर्न माग गरिएको छ । रासस

,

news and entertainment