लेवनानबाट फर्केकी युवतीको व्यथाः प्रहरीले एकाएक एयरपोर्ट पुर्‍याए

भीमदत्तनगर—कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन्।

घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास–१ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना र कैद यथार्थमा भोग्नुपर्यो।

लेवनानको एक घरमा कामदारको रुपमा करिब डेढ वर्ष काम गरेकी २३ वर्षीया मन्दराले मालिकबाट शारीरिक यातनासँगै चोरीको आरोपमा चार महिना जेल सजायसमेत भोग्नुपरेको दुखेसो पोखिन्।

'चार-पाँच महिना घरमालिकले राम्रै व्यवहार गरे। त्यसपछि अनेकन बहानामा दुवैले कुटपिट गर्न थाले', मन्दराले महेन्द्रनगरमा सञ्चारकर्मीसँग भनिन्, 'घर जान्छु भन्दा पैसा पनि दिएनन्। राम्ररी खान पनि दिएनन्।'


अवैधरुपमा २०६९ चैत १७ गते लेवनान पुगेकी मन्दराले अन्तमा घरमालिकले चोरीको आरोपमा आफूलाई प्रहरीमा बुझाएको बताइन्। 'चार महिना जेलमा बसेपछि एकाएक प्रहरीले एयरपोर्ट पुर्‍यायो', उनले भनिन्, 'त्यहाँबाट सोझै काठमाडौं ओर्लिएँ।'

यसबीचमा एक जना नेपालीले मन्दराका श्रीमान् प्रेमबहादुर राना क्षेत्रीलाई उनी जेलमा रहेको खबर पुर्‍याउन सहयोग गरेको उनले बताइन्। प्रेम पनि वैदेशिक रोजगारीको सिलसिलामा युएइमा छन्।

एक छोरीकी आमा मन्दराले पुनर्वास–८ 'घ' गाउँकी दलाल इन्द्रा श्रेष्ठले राम्रो कमाइ हुन्छ भन्दै लेवनान पठाएको जानकारी दिइन्। पाँच कक्षासम्म मात्र पढेकी मन्दराले लेवनानमा नेपालीलाई रोजगारका लागि अनुमती नभएकोबारे आफूलाई जानकारी नभएको बताइन्।

मन्दराकी भाउजु तुलसीका अनुसार एजेन्ट इन्द्राका बुबाले प्रहरीमा नजान भन्दै घरमा आएर आर्थिक प्रलोभन दिने गरेका छन् । 'इन्द्रा के चाहिन्छ ? के कति लिने हो, मिलाउ भन्छिन्' तुलसीले थपिन् । रासस

news and entertainment