भारतमा स्वाइन फ्लुको आतंक, डेढ महिनामै ५ सयले गुमाए ज्यान
फाल्गुन ४,२०७१
नयाँ दिल्ली । भारतमा यसै वर्षको सुरुदेखि हालसम्म ५ सयभन्दा बढीको स्वाइन फ्लुबाट मृत्यु भएको जनाइएको छ ।
अधिकारीका अनुसार पश्चिमी राज्य गुजरातमा ११ को ज्यान गएको छ । राजस्थानमा यस रोगको भीषण आक्रमणपछि यस वर्षको सुरुदेखि ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । भारतमा डेढ महिनायता ६ हजार ३ सय जनामा यो रोग देखापरेको बताइएको छ ।
यद्यपि स्वास्थ्य मन्त्रालयका सचिव एके पान्डाले यस रोगका कारण डरलाग्दो स्थिति नभएको भन्दै रोगका प्रशस्त औषधि उपलब्ध रहेको जनाएका छन् । सन् २०१४ मा ९३७ व्यक्तिमा यो रोग देखापरेको र त्यसमध्ये २१८ व्यक्तिको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यस वर्षको सुरुदेखि यही फ्रेबुअरी १२ सम्ममा देशभर यस रोगबाट ४८५ व्यक्तिले ज्यान गुमाएका छन् ।
राजस्थान र गुजरातमा यस रोगबाट भीषण आक्रमण भएको र महाराष्ट्र, मध्य प्रदेश, तेलंगनामा उल्लेखनीय संख्यामा सो रोगबाट प्रभावित भएको जनाइएको छ । एजेन्सी
इन्डियाटाइम्स डटकमबाट तस्बिर साभार
