२१ भदौ, काठमाडौं ।
भारतीय सेनाका पूर्व जनरल असोक महेताको बयानः
भारतका लागि भूरणनीतिक हिसाबले छिमेकी देशमध्ये सबैभन्दा महत्त्वपूर्ण नेपाल हो । कारण यत्ति हो, नेपालको उत्तरमा तिब्बत, चीन छ । यति उल्लेख गरेपछि थप व्याख्या आवश्यक छैन । चीनले सन् १९५९ मा तिब्बत लिएपछि र चीनसँग भारतले १९६२ मा युद्ध हारेपछि नेपालको आँखामा भारत एउटा कमजोर देश थियो । किनभने, भारतले चीनसँग लडाइँ हारेको थियो । त्योभन्दा पहिला चीनले तिब्बत कब्जा गर्दासमेत भारत केही गर्नसक्ने अवस्थामा थिएन ।
त्यसकारण त्यो समयको भारत नेपाली राजदरबारमा, नेपाली रणनीतिक समुदायको नजरमा कमजोर थियो । सन् १९७१ मा पाकिस्तानसँगको लडाइँ भारतले जित्यो, १९७५ मा आणविक प्रक्षेपण गर्यो । १९७५ मै सिक्किम भारतमा गाभियो । त्यसपछि नेपालको नजरमा भारत बलियो साबित भयो । त्यसले ६० को दशकको कमजोर भारत नेपालीको नजरमा दह्रो साबित भयो ।
नेपाल मामिला जानकार भारतीय सेनाका पूर्वजनर मेहता
महेन्द्र राजा रहेसम्म भारत र नेपालको सम्बन्ध राम्रो पनि थिएन, नराम्रो पनि थिएन । सामान्य सम्बन्धमा सीमित थियो । राजा महेन्द्रका पालामा चीनबाट रोड ल्याउन खोजिएको थियो जसलाई राजाले स्पष्टीकरण दिएका थिए, ‘कम्युनिज्म सडकबाट आउँदैन ।’ त्यो कोदारी राजमार्गको प्रसंग थियो । राजदरबारलाई एउटा कुरा स्पष्ट ज्ञान थियो, भारतको ‘रेडलाइन’ के छ भन्ने । त्यसवेला चीन शक्तिशाली थिएन । चीन १९८० को दशकपछि मात्रै शक्तिशाली भएको हो । तर, नेपालले आफ्नो सार्वभौमसत्ता बचाउनका लागि, ‘स्वतन्त्र हैसियत’ स्थापित गर्नका लागि बढीजसो चीनसँग र केही–केही समय पाकिस्तानसँगको सम्बन्धलाई प्रयोग गरेको घटनाक्रमले बताइसकेका छन् ।
भारतको एउटा ‘रेडलाइन’ थियो कि चिनियाँ गतिविधि नेपालका अरू भागमा जेसुकै भए पनि तराईमा भने हुनुहुँदैन । अर्थात् तराई एउटा रेडलाइन थियो । त्यही कारण नेपालले वनवासा सडकको पुन: टेन्डर गर्नुपर्यो । यो पञ्चायतको समय थियो । नेपालले भारतको सुरक्षा संवेदनशीलता सम्बोधन गरिदिएको थियो ।
१९९१ मा नेपालमा प्रजातन्त्र आएपछि शक्ति र उत्तरदायित्व दुईतिर केन्द्रित भयो । राजातिर वास्तविक शक्ति थियो । प्रधानमन्त्रीकहाँ जनताप्रति उत्तरदायित्व थियो । प्रधानमन्त्रीको शक्ति वास्तविक रूपमा थिएन, तर उनी जनताप्रति उत्तरदायी हुनुपर्ने शासन प्रणाली थियो । राजाकहाँ असाधारण शक्ति थियो, तर उनी जनताप्रति उत्तरदायी हुनुपर्ने अवस्था थिएन । त्यही सेरोफेरोमा ऋषिकेश शाहले मलाई भनेका थिए, ‘संविधानमा सेनाको नियन्त्रण हातमा राखेका राजा शक्तिशाली हुने यस्तो व्यवस्था पनि छ, तर यथार्थमा बहुदलीय प्रजातन्त्र पनि कायम छ ।’
सन् १९८९ मा राजाले रातारात चीनबाट एन्टि–एयरक्र्याफ्ट गन मगाए । त्यो नेपाल–भारत सम्झौताको उल्लंघन थियो । त्यसलगत्तै भारतले नाकाबन्दी लगायो । त्यो नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि सहयोगी सिद्ध भयो । त्यतिवेलासम्म पनि नेपाल–भारत सम्बन्धमा ठूलो समस्या थिएन । तर, नेपालमा जब माओवादीको आन्दोलन सुरु भयो, त्योसँगै नेपाल–भारत सम्बन्धमा समस्या पनि थपियो । माओवादी सरकारमा आएपछि समस्याले उत्कर्ष रूप लियो । सेना प्रमुख कटवालको बर्खास्ती त्यसमध्येको एक थियो ।
nepaliheadlines