बोमलाल गिरी । काठमाडौं ।
मुलुकलाई शान्ति, स्थाइत्व र विकासको मूल फुटाउनका लागि संविधान जारी गरिएको भनिए पनि संविधानले संकट थोपर्दैछ । डेढ महिनादेखि तराई जलिरहेको छ । थारु र मधेसीले आन्दोलन चर्काइरहेका छन् । भारत चिढिएको छ र नेपाललाई नाकावन्दी गर्ने सम्मका हर्कत देखाईरहेको छ । अनि संविधानले एकीकृत नेकपा माओवादीलाई फुटको संघारमै पुर्याएको छ ।
हजारौंलाई भावुक बनाउँदै प्रचण्डले भने- अब म मरेपनि फरक पर्दैन
नयाँ पार्टीकै रुपमा विकास गर्ने गरी नयाँ शक्ति निर्माणमा एमाओवादीको एउटा समूह अन्तिम गृहकार्यमा जुटेको छ । पार्टी प्रति असन्तुष्ट नेता डा. बाबुराम भट्टराई नयाँ शक्तिको नेतृत्व लिन कस्सिएका छन् । त्यसैको अन्तिम तयारीमा अहिले (बुधबार दिउँसो) केही नेता छलफलमा जुटेका छन् ।
नेता भट्टराई आफ्नै निवास सानेपामा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन र पोलिट्ब्यूरो ससदस्य रामचन्द्र झासँग छलफल गरिरहेका हुन् ।
नयाँ शक्ति एकदुई दिनमै
भट्टराई पक्षका केन्द्रीय सदस्य रामरिझन यादवले एक दुई दिनमै नयाँ शक्ति उठाउने बताए । त्यसका लागि अन्तिम तयारी भइरहेको उनको भनाई छ । यादवका अनुसार यसरी उठाउने नयाँ शक्तिले अन्ततः नयाँ पार्टीको रुप लिनेछ ।
केही दिन अघि आफू निकटका प्रभु साह, रामचन्द्र झा, रामरिजन यादाव लगायतसँग छलफल गरी नयाँ शक्ति बारे सुझाव लिएका भट्टराईले आफूलाई समर्थन भए नयाँ शक्तिको नेतृतव गर्न तयार रहेको बताएका थिए । जवाफमा नेताहरुले पनि आफूहरुको समर्थन रहेको प्रतिवद्धता जनाउँदै नयाँ शक्ति निर्माणमा लाग्ने बताएका थिए । नयाँ शक्ति निर्माण गरेपछि अन्य दलका नेताहरुसँग पनि छलफल गरिने यादवले बताए ।
यो शक्तिमा प्रचण्डसँग असन्तुष्ट पार्टीकै नेता र अन्य दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुको पनि समर्थन रहने भट्टराईको विश्वास छ । भट्टराई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित र धेरैले रुचाइएका व्यक्ति भएकाले नयाँ शक्ति सफल हुने उनीहरुको भनाई छ ।
प्रचण्ड प्रति आक्रोस
नयाँ शक्ति निर्माणमा जुटेको समूहले प्रचण्डका कारण मुलुक संकटमा परेको भन्दै नयाँ शक्ति आवश्यक रहेको बताएको छ । संविधान निर्माणको क्रममा प्रचण्ड कांग्रेसको पिछलग्गु भएको, पार्टीका अडान समाप्त पारेको, आदिवासी, जनजाति लगायत क्षेत्र र वर्गको पहिचान मेटाउने काम गरेको, मधेसको आन्दोलन सम्बोधन गर्न नसकेको नयाँ शक्ति पक्षधरले आरोप लगाएको छ ।
कांग्रेस एमालेको पछि लाग्दा पहिचानको मुद्धालाई भुँई न टुप्पाको बनाएको, उँट जस्तो संघीयता बनाएको, तमाम समस्या हुँदा हुँदै पनि संविधान निर्माण जरी विजयउत्सव र दिपावली गर्न बाध्य पारेको, कांग्रेस एमालेसँग काँधमा काँध मिलाउँदै खुल्लामञ्चमा आमसभा गरेको आरोप पनि प्रचण्ड माथि लगाइएको छ ।
