एनेकपा माओवादीका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कहिल्यै गुमनाम भएनन् । चर्चामा आइरहनु उनको उद्देश्य देखिन्छ । उनको विषयगत विद्वतालाई पंक्तिकार सम्मान गर्छ । तर, राजनीति र समाजसेवासम्बन्धी ज्ञान जनताको विश्वविद्यालयबाट जति धेरै पाइन्छ, त्यति औपचारिक शिक्षाबाट कमै पाइन्छ । यसको नापो प्रा. डा. सुरेन्द्र केसीले एक लेखमार्फत उल्लेख गरेका छन् ।
विषयगत विद्यावारिधि उपाधि प्राप्त नभए पनि नेकपा एमाले अध्यक्ष केपी ओली डा. बाबुराम भट्टराईभन्दा राजनीतिक परिपक्वताका दृष्टिले धेरै उन्नत रहेको केसीको भनाइ छ । सिद्धान्त र व्यवहारको संश्लेषणबिना प्राप्त ज्ञान कोरा हुन्छ । त्यसैले विषयगत विशिष्ट ज्ञानका भरमा राजनीतिमा अब्बल हुन खोज्नु मृगतृष्णा मात्र हो । यिनै मृगतृष्णाका कारण पनि बाबुराम बेलाबेला व्यग्र र बेचैन हुने गरेका छन् । तर क्षणिक चर्चामा आइरहन्छन् । अहिले नेपालको संविधान– ०७२ संविधानसभाबाट अत्यधिक मतबाट पारित भई घोषणा भइसकेपछि बाबुरामको बेचैनी बढेको छ । उनी यसमा पटक्कै खुसी देखिएका छैनन् । उनैका पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएकामा खुसियाली मनाउने अभिव्यक्ति दिएका थिए । तर डा. भट्टराई त्यसविपरीत धारणा व्यक्त गरिरहेका छन् ।
जहाँ पनि रूप पक्ष र सार पक्षको भाषण गरिरहन्छन् बाबुराम । उनले त अहिले नेपाली जनतामा निहित सार्वभौमसत्ता रूप पक्षको मात्र भनेका छन् । सार्वभौमताको सारचाहिँ छिमेकी प्रभुको सेवाबाट मात्र जोगिन्छ ?
उनले अहिले खुसी हुने, बत्ती बाल्ने र रमाइलो गर्ने बेला होइन भनेका छन् । यस विषयमा उनको ‘गिलास आधा भरियो, अब नयाँशक्ति बढाऔँ’ शीर्षकमा एक अनलाइन पत्रिकामा लेख पनि प्रकाशित भएको छ, ३ असोज ०७२ मा ।
लोकतान्त्रिक गणतन्त्रले वैधानिकता पाउँदा, संघीयता स्थापित हुँदा, सबै जाति, जनजाति र समुदायले अधिकार सुनिश्चित हुँदा र जनतामा निहीत सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, भौगोलिक अविभाज्यताजस्ता केही महत्त्वपूर्ण विषयलाई मात्र अपरिवर्तनीय बनाइएकामा पनि बाबुराम खुसी नहुने कारण के होला ? अहिलेको संविधानमा उल्लेख अधिकांश सबाल दुईतिहाइबाट संशोधन गर्न सकिन्छ । अब संविधानका केही आधारभूत विषयबाहेक अधिकांश विषय फेर्नका लागि विगतमा जस्तो सशस्त्र संघर्ष गरिरहनुपर्दैन । संसद्मा दुईतिहाइ मत ल्याएर संविधान संशोधन गर्न सकिने प्रावधान राखिएको देखिन्छ ।
हिजोका दिनसम्म जारी भएका भएका सबै संविधानका तुलनामा ०७२ सालको संविधान अग्रगामी रहेको देखिदेखी बाबुराम खुसी नहुनु अचम्म, उदेक र आश्चर्यलाग्दो विषय हो । त्यसमा पनि गणतन्त्र, संघीयता, समावेशिता, सबै जाति जनजाति, मधेसी, मुस्लिम र थारू आदि समुदायलाई समान अधिकार सुनिश्चित गर्ने कुरा उल्लेख भएको संविधानमा बाबुरामको किन असन्तुष्टि ? यो उनको आफ्नै असन्तुष्टि हो कि प्रभुलाई तुष्टि पार्ने तरिका हो ? बारबार सार र रूपको रटान गर्ने बाबुरामको अन्तर्आत्मामा निहीत अन्तर्वस्तुअनुसारको उनको अनुहार किन नियास्रिएको हो ? हुन त प्रभु रिसाउँदा भक्तले बिर्सेर पनि हाँस्नु हुँदैन ।
अझ अहिलेको संविधानमा उल्लिखित महत्त्वपूर्ण मुद्दा माओवादी पार्टीभित्र पनि मेरा आÇनै निजी मुद्दा हुन् भनेर लेख लेख्ने बाबुरामको यो अन्तर्रात्माको आवाज नै हो र ? एक जुगमा एक दिन र एकपल्ट आएको यो विशिष्ट दिवशमा बाबुराम खुसी नहुनुपर्ने कारण के होला ? बत्तीस लक्षण भएको संविधान यो संसारमा कहाँ बनेको छ र ? बाबुराम हिजोको रित्तो गिलास आज आधा भरिँदा पनि बेचैन देखिन्छन् । संवैधानिक राजनीतिक संवाद समितिको सभापति भएर आफैँले मिहिनेत गरेर निर्माण गरेको र अत्यधिक सभासद्बाट पारित संविधान आउँदा बाबुराम खुसी हुन नहुने के प्राविधिक कारण छ ? उनले आफ्नो लेखमा संविधान जारी गर्ने दिन केही पर सारौँ भन्दा प्रमुख पार्टीले नमानेकामा धेरै चित्त दुखाएका रहेछन् ।
नेपालललाई चरम अस्थिर र अराजक बनाउन उद्यत देशी–विदेशी शक्ति अत्यन्त क्रियाशील रहेको बुझिबुझी किन यस खालका विवादास्पद विचार व्यक्त गरिरहन्छन् बाबुराम ? मित्र राष्ट्र भारत सरकार र केही कथित मधेसी नेताका लहैलहैमा लागेर संविधान जारी गर्ने समय बढाउन ढिपी कस्नुका पछाडि बाबुरामको भित्री राज के थियो र छ ? असोज ५ गते एभिन्युज टीभीमा समसामयिक अन्तर्वार्ताका क्रममा राजनीतिक विश्लेषक मुमाराम खनालले डा. बाबुरामको संविधान जारी भएपछिको गतिविधि अत्यन्त संदेहास्पद, प्रायोजित र खेदजनक रहेको बताए । अहिले नेपालका प्रमुख पार्टीहरू एक ढिक्का हुनुपर्ने बेला बाबुराम किन प्वाल पार्न खोज्दै छन् भनी उनले प्रश्न गरे ।
डा. बाबुराम भट्टराईमा कमरेड प्रचण्डप्रतिको इष्र्याभाव देखिन्छ । उनले जे–जसरी पनि प्रचण्डविरोधी राग अलापेर निजी निहित पदीय आकांक्षामा हत्ते हालेको विगतमा देखिएकै हो । बाबुरामले एक वर्षअघि इटहरीमा आएर वैकल्पिक शक्तिको सतही नारा दिएर गए, तर पार्टीमा भावी दिनमा अध्यक्ष हुने हरियो झन्डा देख्नेबित्तिकै मौन साधेका थिए । पदप्रति अति आशक्तले जे पनि गर्छ र गर्न नहुने पनि गर्छ ।
अहिले बाबुराम विभाजन र विखण्डनको नियतका साथ देखापरेका छन् । उनले आÇना लेखमा नेपालीबीच आपसमा विद्वेष भड्काउने जातिवादी संकीर्ण विचार प्रवाह गरेका छन् । उनी लेखमा मधेस र थरुहटलाई समेटेर संविधान जारी गर्नुपथ्र्यो भन्छन् । तर, सोझा मधेसी र थारुलगायत आमजनतालाई भ्रमित पार्ने मधेसी नेताका लहैलहैमा लागेर मात्र होइन, अझ तिनलाई उचाल्दै हिँडेका छन् बाबुराम । उनले हिजो संविधान जारी गर्ने बेला कतिपय आदिवासी, मधेसी, थारु र उत्पीडित समुदायलाई सशक्त आन्दोलन गर्न उक्साएको प्रत्यक्ष छ । अहिले पनि उनी ठूलो तप्का संविधानविरोधी भएको बताउँछन् । तर, उनी ९१ प्रतिशत संविधानसभाका सदस्यले संविधान अनुमोदन गरेको विषयलाई सानो देख्छन् । अनि, पाँच प्रतिशतको प्रायोजित बहिष्कारलाई ठूलो संख्या देख्ने दृष्टिभ्रममा रहेका छन् ।
प्रचण्डले हिजो के–के गरे, त्यो अब कोट्याइरहनुपर्ने विषय रहेन । उनले मात्र होइन, अहिले जो–कसैले के गरिरहेको छ ? त्यसलाई महत्त्व दिने हो । यस मानेमा यो संविधान जारी गर्ने र यसलाई स्थापित गर्दै अगाडि बढ्ने सवालमा एमाओवादीभित्र मात्र होइन, देशमा नै प्रचण्डको उचाइ बढेको छ ।
तर, डा. भट्टराई ‘रिस खा आफू’ भएका छन् । राजनीतिमा विषयगत औपचारिक उच्च शैक्षिक योग्यताको मात्र भर हुँदैन । मुस्ताङ गाडीको ललिपपले केही हुँदैन । आफू प्रधानमन्त्री भएका बेला उपेन्द्र यादवका कारण बन्न लागेको सहमति भाँडिएर संविधान जारी हुन नसकेको प्रत्यक्ष देखेर बढी बाठो भएर तीन बल्ड्याङ खान किन खोज्नु ? आठौँ आश्चर्य छ ।
सभामुख सुवास नेम्वाङले अहिले जारी गरेको संविधानले धेरै कुरा दिएको छ । तर, यसले नेतालाई बुद्धि, विवेक दिन सक्तैन भनेका थिए । नभन्दै आफूले सही गरेको मसी नसुक्दै अबौद्धिक र अविवेकी काममा लागिपरेका बाबुराम देख्दा छक्क परिन्छ । जहाँ पनि रूप पक्ष र सार पक्षको भाषण गरिरहन्छन् बाबुराम । उनले त अहिले नेपाली जनतामा निहित सार्वभौम सत्ता रूप पक्षको मात्र भनेका छन् । सार्वभौमताको सारचाहिँ छिमेकी प्रभुको सेवाबाट मात्र जोगिन्छ ? बाबुरामले नेपालको सार्वभौमिकता र अखण्डता आगामी यति घन्टापछि समाप्त हुन्छ भनेर पनि अनलाइन पत्रिकामा उद्घोष गरेका थिए । यस्ता दूरदर्शी नेताले देश ओरालो र भिरालोतिर लागेको देख्दा रहेछन् । तर, देशको उन्नति र प्रगति भएको पटक्कै देख्दा रहेनछन् । हो पनि सपना र जपना नै विपरीत भएपछि सद्दे र सही सपना कसरी साकार हुन्छ । नभनौँ भन्दाभन्दै सायद बाबुरामले अन्तर्मनको आवाज लिखित वा मौखिक रूपमा व्यक्त गर्दै आएका छन् ।
अनलाइन लेखमा बाबुरामले नेपालका प्रमुख पार्टीका आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु आदिलाई परोक्ष रूपमा विद्रोह गर्न उक्साएको देखिन्छ । अन्तर्राष्ट्रिय जातिको नारा फलाक्ने बाबुराम जातीय संकीर्ण राजनीतिका माध्यमबाट निजी शुभलाभ गर्ने ध्याउन्नामा रहेका देखिन्छन् । अहिले संविधान जारी गर्न उद्यत एमाले र कांग्रेसलगायत पार्टीलाई भोलिको चुनावी राजनीतिक स्वार्थका लागि वातावरण बनाइरहेको भनी कटाक्ष गर्छन् । तर, उनी आफैँ भने नेपाल, नेपाली जनतामा विभाजन, विग्रह र विखण्डन ल्याउने आत्मघाती तथा देशघाती निकृष्ट नियतका साथ लागिपरेको उनका हालका समग्र क्रियापलापले स्पष्ट पार्छ ।
यसरी अनलाइन लेखमार्फत डा. भट्टराई एउटा छुट्टै वैकल्पिक राजनीतिक धार निर्माण गरेर अहिले स्थापित उपलब्धिमाथि टेकेर अहिले र भोलि पनि देखापर्ने असन्तुष्टिलाई समेटेर भाले बन्ने तर्खरमा देखिन्छन् । हिजो संविधान निर्माणका बेला र यसको पूर्वसन्ध्यादेखि नै आफू मातहतका एमाओवादी नेता र कार्यकर्तालाई सहमतिको संविधान जारी नगर्न र नगराउन पर्याप्त विरोध, विग्रह र विभाजन गर्न उक्साएको रहस्य अब स्पष्ट भएको छ ।
