वार्ता असफल भएपछि गच्छदारले भने, ‘लौ, सुशील दाइ अब म हिँडें’

- बसन्त बस्नेत, काठमाडौं


आश्विन १, २०७२- बिहीबार राति एक बजे बालुवाटार बैठकबाट निस्कदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार भोकै, तर प्रफुल्ल थिए । शुक्रबार बिहान तीन दल र प्रधानमन्त्रीसग वार्ता मिल्ने पक्कापक्की झैं थियो । भोलिपल्ट बिहान वार्ता त भयो, तर असफल मोडमा पुगेर टुंगियो । संविधानमा हस्ताक्षर गर्न आफ्ना १४ सभासद् तम्तयार पारेर पार्टी मुख्यालय सानेपाबाट उपाध्यक्ष जितेन्द्र देव र महासचिव रामजनम चौधरीसहित प्रधानमन्त्री निवास हिडेका उनी खाली हात घर फर्किए । संविधानसभा गएनन् ।


३५ दिनदेखि ठप्प मधेस र थरुहटलाई मत्थर पार्न गच्छदारले मध्यमार्गी उपाय सुझाएका थिए । बिहीबार रातिको बैठकमा उनको प्रस्ताव थियो, ‘थरुहट/मधेसका पाच जिल्लामा उठेको सीमांकन विवादलाई राजनीतिक समस्याको रुपमा ग्रहण गरी नेतृत्वले अग्रसरता लिऔं । संविधान जारी भएपछि संशोधन गराएर द्वन्द्व रोकौं ।’

एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘मधेस र थरुहटका पाच जिल्ला’ शब्द राख्न नहुने अडान लिए । वार्तामा सहभागी फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने, ‘किन हो कुन्नि, उहाहरुले मधेस र थरुहट शब्द सुन्नै चाहनुभएन । शब्द आयो कि चिढिइहाल्ने †’

गच्छदारले फेरि अर्को उपाय सुझाए, ‘ठिकै छ, तपाईंहरुलाई त्यो शब्द राख्न अप्ठेरो परेको हो भने ‘मधेस/थरुहटलगायत देशका विभिन्न भागमा उठेका सीमांकन विवाद’ भन्ने शब्दावली राखौं । त्यसो गरियो भने त्यहाका जनतालाई अपनत्वको अनुभूति हुन्छ ।’

कांग्रेस र एमालेका चार नेताले फेरि आपत्ति जनाए । बालुवाटार स्रोतका अनुसार उनीहरुले ‘देशका विभिन्न ठाउमा’ भन्ने वाक्यांश मात्रै उल्लेख हुनुपर्ने अड्डी लिए । गच्छदारले भने, ‘विभिन्न ठाउँ भनिएका अरु भेगमा त कुनै समस्या छैन । जहाँ समस्या छ, कम्तीमा त्यसलाई सम्बोधन गरौं ।’

वार्तामा सहभागी एक मन्त्रीका अनुसार ती नेताहरुले मधेस शब्दावली नै तपाईंलाई किन चाहियो ? भनी प्रतिप्रश्न गरेपछि गच्छदार उत्तेजित र भावुक भए ।

‘मैले आज यो सहमतिमा हस्ताक्षर गरें भने मेरै पार्टीका केही जिम्मेवार नेताहरु पार्टी छाडेर जानेवाला छन् । तराईमा मेराविरुद्ध विरोध हुने बुझिबुझी म बीचको बाटो निकाल्दैछु । तपाईंहरु मैले रिस्क लिएको कुरा नबुझी किन कमजोरी ठान्दै हुनुहुन्छ ?,’ गच्छदारलाई उद्धृत गर्दै शुक्रबार ती मन्त्रीले कान्तिपुरलाई भने ।

गच्छदारले यति भनिसकेपछि प्रधानमन्त्री कोइरालाले देउवा, सिटौला, ओली र रावललाई सम्झाउन खोजे । तर ती नेताहरु टसमस नभएको ती मन्त्रीले बताए । ‘विजयजीले सुनसरी, मोरङका थारु बहुल क्षेत्र र कैलाली कञ्चनपुरका थारुसहित मधेसीहरुलाई सम्बोधन हुनेगरी मध्यमार्गी निकास सुझाउनुभएको थियो,’ ती मन्त्रीले भने, ‘उहाको माग पुरा गर्नै नसकिने खालको थिएन । तर दुर्भाग्यवश वार्ता तुहियो ।’

बिहीबार राति बैठकबाट हिड्ने बेलामा पनि गच्छदार त्यति वाक्यांशका कारण सहमति नअडनेमा ढुक्क थिए । झन्डै सात घन्टा लामो छलफलले उनलाई एक प्रकारको सन्तुष्टि दिएको थियो । यी तिनै गच्छदार हुन्, जसले गत माघ ८ को निर्धारित संविधान निर्माण समयसीमामा संविधान जारी गराउन सुत्राधारको भूमिका खेलेका थिए, भलै उनी सफल हुन सकेनन् । दुई ध्रुवमा बाडिएका कांग्रेस–एमाले र एमाओवादीलाई एक ठाउ ल्याउदै उनैले जेठ २५ गते १६ बुदे समझदारी गराएका थिए । उता असन्तुष्ट मधेसी मोर्चाले ‘गद्दार’ भन्दै गच्छदारलाई मोर्चाबाट निष्काशित गरेको थियो । सीमांकन विनाको संविधान जारी नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिनेबित्तिकै गच्छदारले चार दल बैठकमा सीमांकनका लागि लचकता देखाउन लबिङ थालेका थिए । संविधानसभामा केवल १४ सभासद् भएको सानो क्षेत्रीय दल फोरम लोकतान्त्रिकका यी अध्यक्षले गरेको प्रयासलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत पटक–पटक ‘साहसी र असाधारण’ भनी प्रशंसा गर्ने गर्थे । ‘उहाले भूमिका नखेलेको भए आज हामी यसरी सगै एक ठाउ बसिरहेका हुदैनथ्यौं,’ दाहालले सार्वजनिक रुपमै भन्ने गरेका छन् ।

तिनै गच्छदार संविधान निर्माणको अन्तिम घडीमा किनारामा हुत्याइएका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालयमा आयोजित चियापान कार्यक्रममा एक पदाधिकारीले कान्तिपुरसग अनौपचारिक कुराकानी गर्दै भने, ‘हाम्रो र कांग्रेसको दोस्रो तहका केही नेताको हठले गच्छदार बाहिरिए । सहमतिमा संविधान जारी गरेपछि बन्ने सरकारमा गच्छदारले महत्वपुर्ण मन्त्रालय दाबी गर्लान्, आफू नपरौंला भन्ने सोच हाम्रा साथीहरुमा देखियो ।’
ती पदाधिकारीले भनेझैं शुक्रबार बिहानको बैठकमा यसको झल्को देखियो । ठूला दुई दलका केही नेता ‘मधेस’ शब्द सुन्नेबित्तिके चिढिदा आफू आश्चर्यचकित भएको गच्छदारले बताए । ‘झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुर जिल्लाको नाम सम्झौतामा उल्लेख  गर्न नसक्ने हो भने तराईमधेस राखौं न त भनी मैले बताएँ’, गच्छदारले कान्तिपुरसग भने, ‘तर हाम्रा नेताहरुमा जिल्ला र निर्वाचन क्षेत्रभन्दा माथि उठेर देशको हितमा जोखिम मोलेर निर्णय गर्ने क्षमताको अभाव रहेछ ।’

आधा घण्टामात्रै चलेको वार्तामा आफूहरुले राजनीतिक सहमतिपत्रमा मात्रै यो शब्द उल्लेख गरे पुग्ने, संविधानमा लेख्नु नपर्ने भनी प्रस्ताव राख्दासमेत तीन दलले अस्वीकार गरेको महासचिव चौधरीको दुखेसो थियो । सकारात्मक मोडमा पुगिसकेको वार्ता अचानक भंग भएकामा फोरम लोकतान्त्रिकले दु:ख व्यक्त गरेको छ । संविधान जारी गर्ने आइतबारको समारोहमा आफूहरु नजाने उसले प्रष्ट पारेको छ ।

‘आज मेरो संविधानसभा गएर हस्ताक्षर गर्ने तयारी थियो । ६५ वर्षको सपना पुरा गर्न, हजारौं नेपालीको रगतले पाएको संविधानको स्वामित्व लिन म जानेवाला थिएँ,’ शुक्रबार साझ कान्तिपुरसग गच्छदारले भावुक हुदै थपे, ‘अन्तिम घडीमा भए पनि संविधानका कमजोरी सम्बोधन गरौं भन्ने मेरो सपना थियो । पार्टी र मेरो थारु समुदायमा खलबली मच्चिनेवाला थियो । थुप्रै साथीहरु असन्तुष्ट रहे पनि देशलाई राजनीतिक स्थायित्व दिऔं, दिगो शान्ति स्थापना गरौं भनेर जोखिम मोलेको थिएँ ।’

गच्छदारका अनुसार उनले आफ्ना सबै सभासद् संविधानसभामा हस्ताक्षर गराउन ‘स्ट्यान्ड बाई’ राखेर बालुवाटार हिडेका थिए । तर त्यसको कुनै अर्थ भएन । बालुवाटार बैठक नमिठो मोडमा पुगेर टुंगियो । हिड्ने बेला गच्छदारले भने, ‘लौ सुशील दाइ, म त संविधानसभा जान सकिनँ । तपाईंहरुलाई मेरो शुभकामना छ । सबैको मन राख्ने संविधान ल्याउनुुहोला ।’

सहमति गराउन नसकेका निरीह प्रधानमन्त्रीले उनकै अगाडि आँशु खसाले । एमाले अध्यक्ष ओली र देउवाले परस्पर हेराहेर गरे । प्रधानमन्त्रीका दाहिने हात मानिएका वनमन्त्री महेश आचार्यका आँखा रसाए । एमाओवादी अध्यक्ष दाहाल केही नबोली बसिरहे ।

जनप्रतिनिधिबाट संविधान निर्माणको ऐतिहासिक घडीमा मधेसकेन्द्रित दलहरु छुटेका छन् । उनीहरुको आन्दोलनमा आफू सहभागी नभए पनि गच्छदारले नैतिक समर्थन दिएको दाबी गरेका छन् । ‘तर उनीहरुले मसग एकदमै अपरिपक्व व्यवहार गरे । हाम्रोमा राजनीतिक संस्कृतिको अभाव रहेछ,’ उनले भने, ‘तर मैले मुद्दा छाडेको छैन । अब फेरि मोर्चाबन्दी हुन सक्छ ।’

गच्छदार बाहिरिए पनि संविधानसभासग संविधान जारी गर्न पुग्ने दुई तिहाई बहुमत छ । आफू आइतबार संविधान जारी हुने युगान्तकारी क्षणमा आफू सभाहल नगए पनि देशलाई मुठभेडबाट जोगाउन पहल गरिरहने उनले आश्वासन दिए । ‘आइतबार संविधान जारी हुदैगर्दा १ करोड ३५ लाख नेपाली बस्ने सिंगो तराई भूभागबाट एउटा दल पनि त्यहा बाकी हुने छैन,’ उनले भने, ‘यी ठूला भनिने पार्टीहरुले यो देशलाई कहा पुर्‍याउन लागेका हुन् !’

kantipur.ekantipur


प्रकाशित: आश्विन १, २०७२





,

news and entertainment